५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चीनबाट नेपालमा उच्च तहको राजनीतिक भ्रमण, सीपीसीका पोलिटब्युरो सदस्य युआन आउदै

प्रकाशित मिति :  ५ श्रावण २०८०, शुक्रबार ०९:५१


काठमाडौं । चीनबाट नेपालमा उच्च तहको राजनीतिक भ्रमण हुने भएको छ ।
यहीँ श्रावण ७ गतेबाट ९ गते सम्म चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युनलको भ्रमण हुने भएको हो ।

युआन चीनका ठूलो र शक्तिशाली सहरहरूमध्ये एक छोङछिङ सहरको प्रतिनिधिमण्डललाई नेतृत्व गर्दै युआन च्या च्युनल आइतबार काठमाडौं आउनुहुने भएको हो ।
रकेट वैज्ञानिक युआन सीपीसीको छोङछिङ नगर कमिटीका सचिव हुन्  । सचिव उक्त सहरको पार्टी प्रमुख हुने प्रावधान छ ।

युआन सीपीसीका २४ केन्द्रीय पोलिटब्युरो सदस्यमध्ये एक हुन्  ।

सीपीसीको सन् २०२२ मा भएको २० औं जनकंग्रेसले युआनलाई पोलिटब्युरो सदस्यको जिम्मेवारी दिएको थियो । उनी त्यसअघि सीपीसीको केन्द्रीय सदस्य थिए । उनी राष्ट्रपति सी चिनफिङका विश्वासिला पात्र हुन् ।
युआनले नेपालमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
उनले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र सभामुख देवराज घिमिरेलाई पनि भेट्नुहुने छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रो भुमिका खेल्न सकेमा युआनको भ्रमणमा सीपीसी र नेपालका पार्टीहरूबीचको सम्बन्धका साथै बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजना कार्यान्वयन र चीनले अघि सारेका अन्य इनिसिएटिभका बारेमा पनि छलफल हुनसक्ने छ  ।



प्रतिक्रिया दिनुहोस !