१८ बैशाख २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

रहेनन् शिखर व्यक्तित्व पूर्णलाल श्रेष्ठ

प्रकाशित मिति :  १४ फाल्गुन २०७८, शनिबार ०६:१६


इलाम । इलाम जिल्लाका शिखर व्यक्तितव पूर्णलाल श्रेष्ठको निधन भएको छ । इलामको भौतिक विकास, सांस्कृतिक जागरण तथा राजनीतिमा ठूलो योगदान गर्नुभएका श्रेष्ठको ९४ वर्षको उमेरमा निधन भएको हो ।

उहाँ इलाम नगर पञ्चायतका तत्कालीन प्रधानपञ्च हुनुहुन्थ्यो । नगरको विकासमा उहाँको ठूलो योगदान भएको मानिन्छ । उहाँको अगुवाईमा इलाम नगरमा पहिलो पटक विजुली बालिएको थियो । पञ्चायतकालमा इलामको सिलिखानमा उहाँकै अग्रसरतामा डिजेल प्लान्ट राखेर पहिलो पटक विजुली वितरण गरिएको थियो । श्रेष्ठले ५० वर्ष अघि इलाम नगरमा पहिलो पटक धान मिल पनि सञ्चालन गर्नुभएको थियो ।

राणा शासन विरोधी आन्दोलनमा सरिक रहनुभएका पूर्णलाल लामो समय कांग्रेसमा सक्रिय रहनुभएको थियो । पूर्णलाल लगायतका नेताहरुको नेतृत्वमा कांग्रेसको मुक्ति सेनाले २००७ सालमा इलाम कब्जा गरेको थियो । पछि उहाँ इलाम नगरको प्रधानपञ्च निर्वाचित हुनुभएको थियो । पञ्चायती शासकहरुले कांग्रेसमा लागेको भन्दै उहाँलाई कोपभाजनको सिकार बनाएका थिए भने कांग्रेसले चाहिँ पञ्च भन्दै विरोध गर्ने गरेका थिए । तैपनि जनस्तरमा लोकप्रिय भएकाले इलाममा उहाँको ठूलो राजनीतिक प्रभाव थियो ।

इलामबाट चिसापानी हँुदै झापाको शनिश्चरेसम्म मोटरबाटो खोल्न पनि उहाँले अगुवाई गर्नुभएको थियो । पछि फिक्कल हुँदै झापाको चारआलीसम्म मोटरबाटो खुलेपछि सो बाटो प्रयोगविहीन भएको थियो । अहिले सो सडकलाई पुर्नजिवित गर्न थालिएको छ ।

स्वास्थ्यकर्मीका रुपमा उहाँले लामो समय इलाम नगरवासीको सेवा गर्नुभएको थियो । आफ्नै घरमा निशुल्क उपचार गर्नुहुन्थ्यो, निशुल्क औषधी बाँड्नुहुन्थ्यो । आर्थिक रुपमा डाँवाडोल बनेर पनि उहाँ निशुल्क औषधी बाँड्नुहुन्थ्यो, चन्दा दिनुहुन्थ्यो ।

श्रेष्ठले महाकवि लक्ष्मीप्रसाद देवकोटासँग काठमाडौं आएर ट्युसन पढ्नुभएको थियो । महाकवीका कैयन संस्मरण उहाँले सुनाउने गर्नुहुन्थ्यो ।

स्वर्गीय श्रेष्ठका पत्नी, चार छोरा र तीन छोरी हुनुहुन्छ ।



प्रतिक्रिया दिनुहोस !