५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज संसदीय कोतपर्व हुँदै, इतिहासकै कालो दिन बन्दै

प्रकाशित मिति :  ३ श्रावण २०७८, आईतवार ०७:१२


काठमाडौं । नेपाली राजनीतिमा आज एक थोपा नबगाई कोतपर्व हुन गइरहेको छ । कोतपर्वको पृष्ठभूमि सर्वाेच्च अदालतका पाँच जना न्यायाधीशले संवैधानिक इजलासको फैसला मार्फत् तयार पारिसकेका छन् । फैसला अनुसारको कोतपर्व आज मञ्चन गर्न लागिएको हो ।

आज शेरबहादुर देउवाले प्रधानमन्त्रीका रुपमा विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले विश्वासको मत पाउने आधार सर्वाेच्चका पाँच न्यायाधीशले तयार पारिदिएका छन् । दलबाट निर्वाचित सांसद् दलीय अनुशासनमा बस्न नपर्ने, जथाभावी मत हाल्न पाउने भनी फैसला गरिएको छ । सांसद्हरुलाई फुक्काफाल बन्न पाउने, लिलाम हुन पाउने अवसर फैसलाले दिएको छ ।

सो अवसरको आज प्रतिनिधि सभामा भयानक दुरुपयोग गर्न लागिएको हो ।

आज प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन हुँदा एमालेले विपक्षमा मत दिनेछ । तर, सो पार्टीका केहीले भने आफ्नो पार्टीलाई गद्दारी गर्दै देउवालाई विश्वासको मत दिने षडयन्त्र भइसकेको छ । लोकतन्त्र र अदालती आदेशको खोल हालेर आज सो षडयन्त्र कार्यान्वयन गर्न लागिएको छ । अपरान्ह चार बजे प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिन सभामुख अग्निप्रसाद सापकोटाले पाँच मिनेट घन्टी बजाएपछि जुन मतदान सुरु हुनेछ, त्यसले नेपालमा कोतपर्व गर्नेछ । सो कोतपर्वमा संसदीय प्रणाली, संसदीय नैतिकता, राजनीतिक इमान र दलीय प्रणालीको हत्या गरिनेछ ।

आज विश्वासको मत दिँदा गद्दारी गर्नसक्ने खलपात्रहरु अनुमान गरिएको भए पनि निश्चित भने भइसकेको छैन ।

अहिलेसम्मको अवस्था हेर्दा एमाले र जनता समाजवादी पार्टीभित्र गद्दारी हुने देखिन्छ । अदालती आदेशको पुच्छर समातेर यी दुई पार्टीका सांसद्ले पार्टीलाई गद्दारी गर्दै शेरबहादुर देउवालाई विश्वासको मत दिँदैछन् ।

संसदीय नैतिकता विपरितको हर्कत गर्न गराउन शेरबहादुर देउवा विगतदेखि नै कुख्यात हुनुहुन्छ । २०५२ सालपछिको त्रिशंकु संसदीय कालमा देउवाले सरकार टिकाउन र गिराउन सुरासुन्दरीको प्रयोगदेखि ठूलो रकम खर्च गरेको, सांसद् किनेको, मतदानका बेला सांसद्लाई बैंकक पठाएको आरोप लागेको थियो । त्यो कालखण्डमा देउवाले सबै सांसद्लाई किन्न हरेक सांसद्ले विदेशबाट भन्सार छुटमा एउटा मोटर ल्याउन पाउने निर्णय गर्नुभएको थियो । देउवाको सो निर्णयले पूरै संसदीय व्यवस्था बदनाम बनेको थियो र त्यही बदनामीको आडमा राजा ज्ञानेन्द्रले कू गरेका थिए ।

देउवाले अहिले पनि विश्वासको मत पाउन विभिन्न दल तोडफोड गर्ने, रकम दिने काम गरिरहनुभएको आरोप लाग्न थालेको छ । देउवाले जनता समाजवादी पार्टीका केही सांसद्लाई किन्न सनसिटी अपार्टमेन्टमा फ्ल्याट दिने बन्दोवस्त गरेको समाचार दैनिकी डटकमले दिएको छ ।

आज संसदीय कोतपर्व गर्नासाथ देउवाले संसद् अधिवेशन नै अन्त्य गर्ने हुनुभएको छ । अधिवेशन अन्त्य गरेर कोतपर्वलाई संस्थागत गर्न विभिन्न अध्यादेश ल्याउने दाउमा प्रधानमन्त्री देउवा हुनुभएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस !