५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ओलीद्धारा बैठक रोक्न अस्वीकार, बाहिरियो माधव गुट

प्रकाशित मिति :  १ श्रावण २०७८, शुक्रबार ०७:३३


काठमाडौं । माधवकुमार नेपाल गुटका भिम रावलले आफ्ना कुरा राखिसकेपछि भन्नुभयो– ‘हामीलाई केही समय दिनुस्, अहिले बैठक रोकिदिनुस् ।’

भिम रावलका कुरा सुनिसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठकमा भन्नुभयो– ‘यो बैठक जारी रहन्छ, कार्यसूची अनुसार बैठक अगाडि बढ्छ ।’

त्यसपछि माधव गुटका नेताहरु भिम रावल, घनश्याम भुषाल, भिम आचार्य, गोकर्ण विष्टहरु बाहिरिनुभयो । बाहिरिएपछि सञ्चारकर्मीहरुलाई भिम रावलले भित्र बैठकमा भएको कुराको वर्णन गर्नुभयो ।

भिम रावलका अनुसार सुरुमा उहाँहरुले बोल्न समय माग्नुभयो । अध्यक्ष ओलीले बोल्न समय दिन्छु तर पहिले उपस्थितिमा सहि गर्नुस् भन्नुभयो । माधव गुटका नेताहरुले सही नगरी बोल्न दिन माग गरे । त्यसपछि केपीले भिम रावललाई बोल्न दिनुभयो । १० मिनेट जति कुरा राखेर भिम रावलले बैठक स्थगित गर्न माग गर्नुभएको थियो ।

फर्कनेलाई स्वागत, नफर्कनेलाई नपर्खने

संस्थापन पक्षलाई अल्मलाएर राख्ने, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डसँग वार्गेनिङ गरेर लाभ लिने माधवकुमार नेपाल गुटको रणनीतिलाई एमालेले अब सफल हुन नदिने भएको छ । एमाले संस्थापन पक्षले आजबाट प्रष्टसँग यो संकेत दिएको छ ।

प्रधानमन्त्री बन्नुभएका शेरबहादुर देउवासँग मन्त्री पदको वार्गेनिङ गर्न माधव गुटले एमालेसँग एकता गर्ने भनेर हल्लाखल्ला मच्चाइरहेको छ । माधव गुटले विश्वासको मत नदिए देउवाको सरकार गिर्नेछ । त्यही भएकाले एमालेमा मिल्छौं, विश्वासको मत नदिन सक्छौं भनेर माधव गुटले देउवालाई ब्ल्याकमेलिङ गर्दै आइरहेको छ ।

यो कुरा बुझेर एमाले अध्यक्ष केपी शर्मा ओलीले कित्ता क्लियर गर्नुपर्ने हालतमा माधव गुटलाई पुराउनुभएको छ । उहाँले माधव गुटको माग अनुसार बैठक रोक्नुभएन । भिम रावलहरु निस्किएपछि एमालेको बैठक अहिले चलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !