५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माधव नेपाललाई अब एमालेमा फर्कन नदिइने

प्रकाशित मिति :  ३० असार २०७८, बुधबार ११:४५


काठमाडौं । नेकपा एमालेमा माधवकुमार नेपालको च्याप्टर क्लोज भएको छ । माधव नेपाललाई अब एमालेमा फर्कन नदिइने भएको छ ।

निवर्तमान प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हजारौं कार्यकर्ताको माझमा माधव नेपाललाई अब पार्टी नफर्काइने, क्षमा नदिइने, आत्मालोचना गरे पनि माफी नदिइने घोषणा गर्नुभएको हो ।

आफ्ना समर्थक तथा शुभेच्छुक हजारौं जनताको जुलुस सहित प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास भक्तपुरको बालकोट पुग्नुभएका ओलीले सो घोषणा गर्नुभएको हो ।

ओलीले घरको बार्दलीबाट कार्यकर्तालाई सम्बोधन गर्नुभएको हो । सम्बोधनका क्रममा ओलीले गल्ती गर्नेहरु फर्कन चाहन्छन् भने काम र जिम्मेवारी दिने भन्नुभएको थियो । तर, कार्यकर्ता माझबाट माधवर्लाइ फर्काउन पाइँदैन भन्दै नारा लागेको थियो । त्यसपछि ओलीले माधव जस्ता गद्दारलाई नफर्काइने घोषणा गर्नुभएको थियो ।

माधव विरोधी नारा

बालुवाटारबाट बालकोटसम्म गएको विशाल जुलुसमा माधव नेपालको विरुद्धमा नारा लागेको थियो । अध्यक्ष ओलीले माधव विरुद्ध नारा नलगाउन बारम्बार खबर पठाउनुभएको थियो । एमाले नेता महेश बस्नेतले कार्यकर्तालाई माधव विरुद्ध नारा नलगाउन बारम्बार निर्देशन दिनुभएको थियो । तर, आक्रोशित कार्यकर्ता तथा सर्वसाधारणले माधव नेपाल गद्दार हो भन्दै नारा लगाएका थिए ।

ओलीको निवासमा पुग्नुभएपछि पनि कार्यकर्ता पंक्तिले माधवप्रति आक्रोश व्यक्त गरिरहेका थिए । ओलीले फर्कन चाहनेहरुर्लाइ जिम्मेवारी दिने भन्नुहुनासाथ भीड तिब्र असहमति जनाएको थियो । त्यसपछि ओलीले माधवलाई गद्दार घोषणा गर्नुभएको थियो ।

अहिलेको परिस्थिति आउनुमा माधव नेपाल सम्पूर्ण रुपमा जिम्मेवार रहेको बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !