५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमी कमजोरी स्वीकार्ने कुनै ठाउँ छैन

प्रकाशित मिति :  ३० असार २०७८, बुधबार ११:४३


काठमाडौं । ‘माधव नेपाल गद्दार हुन्’ अध्यक्ष केपी शर्मा ओलीको यो वाक्यसँगै नेकपा एमाले नयाँ युगमा प्रवेश गरेको छ । यो वाक्यसँगै अर्काे वाक्य यस्तो थियो– ‘माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमी कमजोरी स्वीकार्ने कुनै ठाउँ छैन ।’

अर्थात्, अब नेकपा एमाले नयाँ तरिकाले अगाडि बढ्ने भएको छ । माधव नेपाल र उहाँको पछि लाग्नेहरुलाई पछाडि छाडेर एमाले अगाडि बढ्ने प्रष्ट भएको छ । अब एकताको नाममा एमालेमा कुनै नाटक नहुने भएको छ । माधव नेपाल र उहाँको पछाडि लाग्नेहरुलाई फर्काउन कुनै प्रयास नगरिने भएको छ ।

एमालेका नेताहरुका अनुसार दुई पक्षको कार्यदल बीच भएको १० बुँदे सहमति नै एकताको अन्तिम प्रयास हो । ‘त्यो सहमतिमा बाँधिएर जोजो आउँछन् ती साथीहरुलाई दिल खोलेर जिम्मेवारी दिन्छौं’– एमाले नेताहरुको भनाई छ ।

ओलीको सो घोषणासँगै माधव नेपालको समूहले गरेको गद्दारीको एक्शनमा एमालेको र्याक्शन सुरु भएको मानिएको छ ।

आफ्नो निवासको बार्दलीबाट कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले भन्नुभयो– ‘माधव नेपाल जस्ता लाजशरम हराएका मान्छे । विश्वासघाती तत्व ।’ ’

एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाललाई एकता प्रक्रियामा ल्याउन अन्तिमसम्म प्रयास गर्नुभएको थियो । सर्वाेच्च अदालतको फैसला आउने दिन बिहानसम्म ओलीले माधवलाई एकतामा ल्याएर सच्याउन प्रयास गर्नुभएको थियो । तर, आफ्नो पार्टीको सरकार ढालेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माधवले अपहत्ते मरिहत्ते गरिरहनुभयो ।

शेरबहादुरलाई प्रधानमन्त्री बनाएको सफलतामा रमाइरहनुभएका माधवलाई आज ठूलो झड्का लागेको छ । उहाँ एमालेबाट निष्काशित हुनुभएको छ । जबकि सर्वाेच्च अदालतबाट फैसला आएको दिन उहाँले पार्टीमा फर्किएको भनेर देउवा, प्रचण्ड सहितको बैठकमा भन्नुभएको थियो । यद्यपी, सार्वजनिक रुपमा भने उहाँले पार्टीमा फर्किएको घोषणा गर्नुभएको छैन ।

एमाले नेतृत्वको सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार बनाउनमा माधव नेपालको मुख्य भूमिका देखियो । माधव नेपाल सहित २६ जनाले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिलाई चिठ्ठी नदिएको भए राजनीतिक कथा अर्कै बाटोमा अगाडि बढ्ने थियो ।

केपी ओली नेतृत्वको सरकार बनेको दिनदेखि नै माधव नेपाल विरुद्धमा हुनुहुन्थ्यो । माधवले आफ्नो पार्टीको सरकारको समर्थनमा एक दिन पनि बोल्नुभएको थिएन ।

माधव नेपाल अब एमालेमा फर्कने कुनै ठाउँ बाँकी रहेन । एमालेका समस्त कार्यकर्ता तथा सर्वसाधारण माधवको विरुद्धमा खनिएका छन् । आफ्नै पार्टीको सरकार ढालेर राजनीतिक अस्थिरता सिर्जना गर्ने खलपात्रका रुपमा माधव स्थापित हुनुभएको छ । उहाँको राजनीतिक जीवन अब शेरबहादुर देउवा र प्रचण्डको हातमा निर्भर रहेको छ ।

देउवा र प्रचण्डले माधवलाई केही समय बेलुन फुकेर उकास्न सक्ने ठाउँ देखिन्छ तर दीर्घकालीन रुपमा भने माधव नेपालको राजनीतिक भविष्य समाप्त भएको छ । माधव नेपालको राजनीतिक जीवनमा प्रलय भएको छ ।



प्रतिक्रिया दिनुहोस !