५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ओलीलाई घरसम्म पुराउन सयौं मोटर तथा मोटरसाइकलको जुलुस हुने

प्रकाशित मिति :  २९ असार २०७८, मंगलवार १५:१०


काठमाडौं । बुधबार बिहान केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटार त्याग्दै हुनुहुन्छ । तीन वर्ष पाँच महिना प्रधानमन्त्री पदमा रहनुभएका ओलीलाई सर्वाेच्च अदालतका पाँचजना न्यायाधीशले पदबाट हटाएका हुन् ।

केपी ओली बुधबार बालुवाटारबाट आफ्नो घर भक्तपुरको बालकोट जानुहुनेछ । बिहान ११ बजे उहाँ बालुवाटार निवास त्यागेर बालुवाटार जान लाग्नुभएको हो । बालुवाटारबाट बालकोट जानुहुँदा साथमा उहाँको परिवार मात्र हुने छैनन्, हजारौं जनता तथा कार्यकर्ता पनि हुनेछन् ।

ओलीलाई बालुवाटारबाट बालकोटसम्म पुराउन राष्ट्रिय युवा संघले विशेष आव्हान गरेको छ । युवा संघको जुलुसले घेरिएको ओलीको मोटर बालकोटसम्म जानेछ ।

नेकपा एमालेका युवा इन्चार्ज तथा केन्द्रीय सदस्य महेश बस्नेतका अनुसार हजारौं नरनारीका साथमा बालकोट पुगेर ओलीले गृह प्रवेश गर्नुहुनेछ ।

बुधबार ओली घर जाने सडक रुटमा ठाउँठाउँमा उत्सव मनाउने, प्रधानमन्त्रीका रुपमा उत्कृष्ट कार्य गरेकोमा धन्यवाद दिने कार्यक्रम रहेको छ । भक्तपुर सम्म पुराउन सयौं मोटर तथा मोटरसाइकलको जुलुस पनि हुनेछ ।

भक्तपुरको कौशलटारदेखि बालकोटसम्म सडकको दायाँबायाँ हजारौं मानिस उपस्थित हुने बस्नेतले बताउनुभयो ।  उहाँले भन्नुभयो– ‘इतिहासका सर्वाधिक सफल र लोकप्रिय प्रधानमन्त्री केपी शर्मा ओलीलाई हामी भव्यसँग बालुवाटारबाट बालकोट लैजानेछौं ।’

ओलीलाई बालुवाटारदेखि बालकोटसम्म पुराउन झापा एमालेका नेताहरु पनि काठमाडौं आएको बुझिएको छ । उनीहरुले पनि जुलुसमा विशेष सहभागिता जनाउने भएका छन् । त्यसैगरी एमालेका विभिन्न जनवर्गीय संगठनहरुले पनि जुलुसमा विशेष रुपमा सहभागिता जनाउने भएका छन् ।

नेपालमा पदमुक्त प्रधानमन्त्रीलाई यसरी स्वागत जुलुस सहित घर पुराइएको दोस्रो घटना हुँदैछ । यस अघि ०७३ सालमा ओली पदबाट हट्नुभएपछि हजारौं मानिसले बालुवाटारबाट बालकोट घरसम्म पुराएका थिए ।



प्रतिक्रिया दिनुहोस !