५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

युथ फोर्सले पायाे पुर्नजन्म, क्षितिज थेवे बने कमाण्डर

प्रकाशित मिति :  २९ असार २०७८, मंगलवार ०८:११


काठमाडौं । नेकपा एमालेले युथ फोर्सलाई पुर्नजिवित गरेको छ । राष्ट्रिय युवा संघ नेपालको मातहतमा युथ फोर्सलाई पुर्नजिवित गरिएको हो ।

सुरुआतमै युथ फोर्सको पाँच सय एक सय सदस्यीय कमिटी बनाइएको छ । युथ फोर्सको सेन्ट्रल कमाण्डका प्रमुख क्षितिज थेबे र उपप्रमुख पुष्प श्रेष्ठ हुनुहुन्छ ।

विगतमा माओवादी खुला राजनीतिमा आएपछि माओवादी आतंकको प्रतिकार गर्न युथ फोर्स बनाइएको थियो । माओवादीले वाईसिएलले देशका सबै सहर गाउँमा विभिन्न भवन कब्जा गरेर वाईसिएलको क्याम्प राखेको थियो । वाईसिएलले समानान्तर सत्ता चलाउन खोज्दै लुटपाट, अपहरण र डकैती गर्ने गरेको थियो ।

त्यसको प्रतिकारको क्रममा युवा संघका तत्कालीन अध्यक्ष महेश बस्नेतको अध्यक्षतमा युथ फोर्स गठन गरिएको थियो ।

युथ फोर्स घोषणाका लागि राजधानीमा आयोजित कार्यक्रममा नेकपा एमालेका युवा इन्चार्ज महेश बस्नेत पनि उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले युथ फोर्सले आफ्नो पूरानो गौरव सम्झिएर काम गर्नुपर्ने बताउनुभयो । उहाँको भनाई थियो– ‘अहिले देशलाई अस्थिरतामा लैजान खोजिएको छ, संविधान भत्काउन खोजिएको छ, गैरसंवैधानिक र अलोकतान्त्रिक तरिकाले सत्ता कब्जा गर्न खोजिएको छ । यसका विरुद्ध युथ फोर्सले संघर्ष गर्नेछ ।’

काठमाडौं लगायत देशका विभिन्न स्थानमा युथ फोर्सका १ सय ५० वटा कमाण्ड बनेको कार्यक्रममा घोषणा गरिएको थियो । राष्ट्रिय युवा संघ नेपालले युथ फोर्सको नेतृत्व गर्ने बस्नेतले बताउनुभयो ।

एक हप्ता भित्र देश व्यापी रुपमा युथ फोर्स गठन गरी त्यसमा ५० हजार युवालाई आवद्ध गर्ने उहाँले बताउनुभयो । पार्टी संकटमा पर्दा कुनै पनि बेला युथ फोर्स ब्युँतिने बस्नेतले बताउनुभयो । ‘युथफोर्स सिरानमुनि राखिएको खुकुरी जस्तै हो, जतिखेर आवश्यक पर्छ त्यतिबेला निकालिन्छ, यसले एमालेका नेता कार्यकर्ता र शुभेच्छुकको रक्षा गर्ने छ’, उहाँले भन्नुभयो ।

एमालेलाई गर्न खोजिएको घेराबन्दीलाई तोड्न युथ फोर्सले काम गर्ने बस्नेतले प्रष्ट पार्नुभयो । त्यसको प्रतिरोध र प्रतिवाद गर्न उहाँले युथ फोर्सलाई आग्रह गर्नुभयो ।

एमाले फेरि एक महिना भित्र सरकारमा आउने उहाँले बताउनुभयो । नभए पनि ६ महिना भित्र निर्वाचित भएर एमाले पुन: सत्तामा पुग्ने बस्नेतले दाबी गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले युथ फोर्सले देशघाती तत्वहरु विरुद्ध कडा संघर्ष गर्ने बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !