५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

देउवाले माओवादीलाई मुख्य मन्त्रालय नदिने

प्रकाशित मिति :  २९ असार २०७८, मंगलवार ०७:३७


काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सत्ता गठवन्धनमा सुरुमै खटपट सुरु भएको छ । प्रधानमन्त्री बन्न लाग्नुभएका देउवाले मन्त्रिमण्डल बनाउँदा माओवादी केन्द्रलाई मुख्य मन्त्रालय नदिने हुनुभएको छ ।

गृह, अर्थ, परराष्ट्र, भौतिक निर्माण जस्ता मन्त्रालय कांग्रेस आफैंले राख्ने भएको हो । सोमबार राति र मंगलबार बिहान देउवा निवासमा बसेको कांग्रेसका सीमित नेताहरुको बैठकले माओवादीलाई तत्काल मन्त्रिमण्डलमा नल्याउने, ल्याउनै पर्ने भए पनि मुख्यमुख्य मन्त्रालय कुनै पनि नदिने निर्णय गरेको छ ।

‘विश्वासको मत नलिई माओवादीलाई सरकारमा नल्याउने भएका छौं’– देउवा निकट एक नेताले  जानकारी दिए ।

देउवाले विश्वासको मत नपाएको अवस्थामा प्रतिनिधि सभा विघटन गरेर चुनावमा जानुपर्ने हुन्छ, विघटन पछि मन्त्रिमण्डलमा सदस्य थप्न नपाइने गरी सर्वाेच्च अदालतले फैसला गरेको छ । माओवादीले भने विश्वासको मत लिन अगाडि नै मुख्यमुख्य मन्त्रालय हात पार्ने योजना बनाएको छ ।

यता, माओवादीले पनि देउवालाई घुर्की लगाउन थालेको छ । माओवादी नेताहरुले तत्काल मन्त्रिमण्डलमा सामेल नहुने भनेर देउवालाई दवाबमा पार्ने रणनीति अपनाएका छन् ।

देउवाले आज सपथ लिएपछि सानो मन्त्रिमण्डल बनाउने बताइएको छ । मन्त्रिमण्डलमा कांग्रेसका अन्य गुटहरुलाई कति भाग दिइन्छ भन्ने निश्चित भएको छैन ।



प्रतिक्रिया दिनुहोस !