२० बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

देशलाई समृद्ध बनाउन धानमा आत्मनिर्भर हुनुपर्छ-मन्त्री नेम्वाङ

प्रकाशित मिति :  १५ असार २०७८, मंगलवार ०८:३८


काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री वसन्तकुमार नेम्वाङले देशलाई समृद्ध बनाउन धानमा आत्मनिर्भर हुनुपर्ने बताउनु भएकाे छ ।

१८ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् परिसरमा आयोजित कार्यक्रममा मन्त्री नेम्वाङले कृषिमा धान बाली महत्वपूर्ण भएकाे बताउनुभयाे ।

देशको अर्थतन्त्रको भरपर्दो आधार कृषि भएको भन्दै उहाँले कृषिमा पनि धान बाली महत्वपूर्ण भएकाले धान बालीको उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयाे । धान बाली वृद्धि भएमात्रै देशकाे समृद्धि हासिल हुने उहाँले बताउनुभयाे । कृषिको उत्पादन तथा उत्पादकत्व बढाएर आयातलाई प्रतिस्थापन गर्न र आत्मनिर्भर बन्न सक्नुपर्ने पनि मन्त्री नेम्वाङले बताउनुभयाे ।

उहाँले धान बालीकाे उत्पादन, आधुनिकीकरण, भण्डारण र बजार व्यवस्थापनका लागि सरकारले स्पष्ट नीति बनाइरहेको बताउनुभयाे । नेपालको खाद्य तथा पोषण सुरक्षामा धान बालीको व्यापकता र आवश्यकतालाई ध्यान दिनुपर्ने मन्त्री नेम्वाङले बताउनुभयाे ।

उहाँले  भन्नुभयाे – ‘नेपालको खाद्य तथा पोषण सुरक्षामा धान बालीको अहमता, व्यापकता र आवश्यकतालाई ध्यान दिन जरुरी छ, परम्परा, सांस्कृतिक र महोत्सवको रुपमा, यसको उत्पादकत्व बढाउँदै, आधुनिकीकरण गर्दै उचित भण्डारण र व्यवस्थापन गर्दै लाने कुरामा स्पष्ट नीति बन्दैछन्, धान बालीको विकासका लागि थप कुनै नीति बनाउनुपर्ने भएपनि मन्त्रालय तयार छ ।’

मन्त्री नेम्वाङले दिवसकाे अवसरमा नार्क परिसरमा धान राेपाइँ पनि गर्नुभएकाे थियाे । नेपाल कृषि अनुसन्धान परिषद्ले हरेक वर्ष धान दिवसका अवसरमा राेपाइँ महाेत्सव गर्दै आएकाे छ । काेभिड महामारीका कारण गत वर्ष र याे वर्ष सांकेतिक रुपमा महाेत्सव गरिएकाे छ । विगत वर्षहरुमा जस्ताे धुमधामसाथ याे वर्ष महाेत्सव मनाइएकाे छैन । महाेत्सवमा सहभागीले पूर्ण रुपमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !