२० बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रिय धान दिवस राेपाइँसँगै दही च्यूरा खाएर मनाइँदै

प्रकाशित मिति :  १५ असार २०७८, मंगलवार ०४:४९


काठमाडाैं । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस राेपाइँसँगै दही च्यूरा खाएर मनाइँदैछ ।

गत वर्षहरुमा धान दिवस राेपाइँ महाेत्सव अ‌ायाेजना गरेर देशभर निक्‍कै रमाइलाे गर्दै मनाइथ्याे । तर याे वर्ष पनि अघिल्लाे वर्ष जस्तै काेभिड महामारीले धान दिवसलाई अ‌ाेझेल पारेकाे छ । काेभिड जाेखिमकैबीच स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सांकेतिक रुपमा धान दिवस मनाइँदैछ ।

‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारा साथ १८ औं राष्ट्रिय धान दिवस मनाइँदैछ । विगत वर्षहरुमा जस्ताे भव्य कार्यक्रम गरेर याे वर्ष दिवस मनाउन पाइने छैन । एकअर्का बीच भाैतिक दूरी, मास्क लगायत स्वास्थ्य सुरक्षा मापदण्ड उपाय अपनाएर राेपाइँमा सरिक हुनुपर्नेछ ।

कृषि विभागले जिल्लास्तरका धान दिवस कार्यक्रम समेत सरकारी फार्ममा सांकेतिक रुपमा मनाउन निर्देशन दिएको छ । हिलो खेल्ने लगायत सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक कार्यक्रम नगर्न विभागले आग्रह गरेकाे छ । धान दिवस मनाउनेहरुका लागि भाैतिक दूरी कायम गरी थोरैको समूहमा रोपाइँ गर्ने र कार्यस्थलमा उपयोग भएका सामग्री निसंक्रमण गर्ने लगायत मापदण्ड तोकिएकाे पनि विभागले जनाएकाे छ ।

अ‌ाैपचारिक रुपमा धान राेपाइँ असार १५ मा सुरु हुँने भएपनि याे वर्ष असार पहिलाे सातादेखि नै राेपाइँ सुरु भइसकेकाे छ । किसानहरु असारकाे सुरुअ‌ातदेखि नै राेपाइँमा रमाइरहेका छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका असारे गीत गाएर खेतमै निक्‍कै रमाइलो गरिन्छ  ।

कामको चटारोले थकित किसानले शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।

परापूर्वकालदेखि नै नेपाली समाजमा धानको आर्थिक, सामाजिक र सांस्कृतिक महत्व छ । नेपालमा २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।नेपालमा करिब १५ लाख हेक्टर जमिनमा धान खेती हुन्छ । गत वर्ष ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । याे वर्ष ६० लाख मेट्रिक टन धान उत्पादन गर्ने सरकारको लक्ष्य छ ।



प्रतिक्रिया दिनुहोस !