२० बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मकै बालीमा फौजी किराकाे प्रकाेप

प्रकाशित मिति :  ८ असार २०७८, मंगलवार ०६:१९


काठमाडौं । तीन वर्ष अघि नेपाल भित्रिएको अमेरिकन फौजी किराको प्रकोप यस वर्ष पनि मकै बालीमा देखिएको छ ।

देशका विभिन्न स्थानमा लगाइएको मकै बाली किराले नष्ट पारेको छ । मकैको गुभो खाएर किराले क्षति पुर्याएको रामेछापको मन्थली नगरपालिका–५ की नमिता कार्की बताउनुहुन्छ । धान आउन लागेको मकैको गुबो खाएर किराले नष्ट पारेको उहाँले बताउनुभयो ।

रामेछापमा अमेरिकन फौजी किराले तीन वर्ष यतादेखि मकैमा क्षति पुर्याएको त्यहाँका किसान बताउँछन् । पहिलो वर्ष जिल्लाको खाँडादेवी गाउँपालिकामा देखापरेको यो किरा अहिले जिल्ला भरि नै फैलिएको छ ।

किराले सिन्धुली, दोलखा, ओखलढुंगा, काभ्रे लगायतका जिल्लामा पनि किसानले लगाएको मकै बालीमा क्षति पुर्याएको छ । कतिपय स्थानमा किराले मकैको पात र डाँठ खाएर बारी नै नाङ्गो बनाइदिएको छ ।

यो किरा एक खालको पुतलीले पारेको फुलबाट बन्ने लार्भा हो । जसले मकैको गुभोमा पसेर बोट पुरै नष्ट पारेर खाइदिन्छ । यो पुतली एक ठाउँमा फुल पारेर धेरै टाढासम्म उड्ने भएकोले यसले पुर्याउने क्षति ठूलो भएको कृषि विज्ञको भनाइ छ ।

यो किरा नियन्त्रणको लागि किसानले मकैको गुभोमा पानी मिसाएर गाईको गहुँत तथा युरीया मलको गेडाका साथै अन्य विषादि राख्दै आएका छन् । यसले क्षति केही कम हुने भए पनि किरा नियन्त्रणमा आउन नसकेको किसानको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !