७ जेष्ठ २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चार प्रदेशमा नेपाली मौलिक वाद्यवादन प्रशिक्षण हुने

प्रकाशित मिति :  ४ असार २०७८, शुक्रबार १०:०१


काठमाडाैं । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको संगीत विभागले आव २०७८/७९ सम्पादन गरिने वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ । प्रमुख प्राज्ञ अशोककुमार राईले आफूले नेतृत्व गरेको संगीत विभागबाट चार  कार्यक्रम सम्पन्न गर्ने लक्ष्य लिइएको बताउनुभयो ।

उहाँका अनुसार यस वर्ष चार प्रदेशका आठ स्थानमा नेपाली मौलिक   वाद्यवादनसम्बन्धी प्रशिक्षण सञ्चालन गरिनेछ । प्रशिक्षार्थीलाई पूर्वीय तथा पाश्चात्य सङ्गीतको सैद्धान्तिक ज्ञान दिनाका साथै सम्बन्धित बाजाको ऐतिहासिक पृष्ठभूमि, धार्मिक तथा सांस्कृतिक महत्वका बारेमा समेत ज्ञान प्रदान गरिने छ ।

राईले यस वर्ष सनाई, सारंगी, मुर्चुंगा, बिनायो, पियुङ, टुङ्ना, डम्फु, धिमे, च्याब्रुङ, राई ढोल, धिमाल ढोल, मादल, बाँसुरी र ढोलक वाद्यवादनसम्बन्धी प्रशिक्षण चलाइने बताउनुभयो । गण्डकी प्रदेशमा रहेका गन्धर्व समुदायको धार्मिक तथा विभिन्न संस्कार–संस्कृतिमा बजाइने धुनको सङ्कलन तथा रेकर्डिङ गरी अभिलेख राखिनेछ । सोको पृष्ठभूमिसहित वृत्तचित्रसमेत बनाइने छ ।

लुम्बिनी प्रदेशमा रहेका मौलिक लोकबाजाका इतिहास, परम्परा र सम्बन्धित जाति तथा समुदायका धार्मिक तथा सांस्कृतिक पक्षको चित्रण गरिनेछ । यसैगरी लिम्बू जातिमा प्रचलित एकराते तंसिङ र राई समुदायको मृत्यु संस्कारसँग सम्बन्धित मुन्धुमी संगीतको अभिलेखीकरण गरिनेछ ।

प्रशिक्षणले लोकसंगीत, लोकधुन तथा लोकबाजाको अध्ययन, अनुसन्धान, संकलन तथा प्रशिक्षणले सम्बन्धित विधा तथा क्षेत्रको संरक्षण, संवद्र्धन र व्यावसायिकीकरण गर्नमा सहयोग पुग्ने विश्वास लिइएको छ । ‘चालु

आवमा नेपाली मौलिक लोकबाजासम्बन्धी पाठ्यसामग्री तयारीको काम अन्तिम चरणमा पुगिसकेको छ’, उहाँले भन्नुभयो, ‘पाठ्यपुस्तकका आधारमा वाद्यवादन प्रशिक्षण योजनालाई अगाडि बढाउनेछौँ ।’

–रासस



प्रतिक्रिया दिनुहोस !