७ जेष्ठ २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दोलालघाट बजार जोखिममा,पुल पुरिने खतरा

प्रकाशित मिति :  ४ असार २०७८, शुक्रबार ०५:३८


काठमाडौं । नदीमा माटोको सतह बढेपछि काभ्रेको दोलालघाटमा रहको पक्की पुल पुरिने जोखिम बढेको छ । योसँगै दोलालघाट बजार समेत जोखिममा परेको छ ।

इन्द्रावतीले ल्याएको माटोले पुल राखिएको ठाउँमा नदीको सतह उठेको छ । माटोले पुलका पिल्लर पुरै डुबेका छन् । पुल मुनिबाट पानी छिर्ने सानो भाग मात्र बाँकी रहेको छ ।

भर्खरै वर्षा सुरु भएकोले नदीमा अझै बाढी आउन बाँकी नै छ । लेदो सहितको बाढी आएमा लेदोले पुल पुरिएर पुल माथिबाट पानी बग्ने अवस्था बनेको छ । त्यसो हुँदा कुनै पनि बेला बाढीले पुल बगाउने तथा दोलालघाट बजार नै डुबानमा पर्ने उच्च जोखिम रहेको छ ।

नदी तथा त्यसका सहायक खोला किनारमा सञ्चालन गरिएका क्रसरले फालेको माटो तथा ठाउँ ठाउँमा गएको बाढी पहिरोले बगाएको ढुंगा माटोको कारण नदीको सतह उक्सिएको हो ।

नदीको सतह उक्सिएको र पानीको वहाव समेत बढेको कारण दोलालघाट पुरानो बजार क्षेत्र डुबानमा पर्न लागेको छ । बजारका ११ घर नदीको डुबानमा परेका छन् । नदीको सतह उक्सेपछि दोलालघाट बजार नै पुरिने र डुबानमा पर्ने अवस्था आएको भन्दै स्थानीय त्रसित भएको छन् ।

नदीमा बाढी आएर दोलालघाट बजार र सिपाघाट क्षेत्र डुबानमा परी क्षति पुर्याउन सुरु गरिसकेको छ । दोलालघाटको पुलमा नदीले बगाएर ल्याएको ढुंगा, गिट्टी, बालुवा आदिका कारण नदीको उचाइ बढेकाले तत्काल व्यवस्थापन गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने जिल्ला विपत् व्यवस्थापन समिति काभ्रेले निर्णय गरेको छ ।

पुलको छेउमा थुप्रिएको माटो तत्काल नहटाउने हो भने कुनै पनि बेला पुल र बजार क्षेत्र नै बगाउने अवस्था सिर्जना भएको छ ।



प्रतिक्रिया दिनुहोस !