३ जेष्ठ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

टिपर दुर्घटना, एक ज्यान गयाे

प्रकाशित मिति :  ३ असार २०७८, बिहीबार ११:३५


किमाथांका । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट अरुण तेस्रो जलविद्युत् आयोजनाको टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

चिचिला गाउँपालिका–३ पुखुवामा भिरबाट बा५ख १४० नंको टिपर खस्दा टिपरचालक धनकुटा नगरपालिका–२२ वर्षीय दीपेश भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कविन राईले जानकारी दिनुभयो ।

बुधबार राति १०ः०० बजे अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल चिचिला–३ पुखुवामा ढुंगा अनलोड गर्ने क्रममा पछाडि सार्दा टिपर अनियन्त्रित भई भिरबाट करिब तीन सय मिटर तल अरुण नदीको बगरमा झरेको थियो । भिरबाट खस्दा चालक भट्टराईको घटनास्थलमै ज्यान गएको सूचना अधिकारी राईले बताउनुभयो ।

त्यस्तैगरी टिपर दुर्घटना परेर सहचालक काभ्रेपलाञ्चोक भकुन्डेबेँसीका २० वर्षीय नवराज श्रेष्ठ गम्भीर घाइते भएको उहाँले जानकारी दिनुभयो । सहचालक श्रेष्ठको टाउको चोट लागेको छ भने बायाँ हात भाँच्चिएको सूचना अधिकारी राईले बताउनुभयो ।

गम्भीर घाइते श्रेष्ठको जिल्ला अस्पताल संखुवासभामा उपचार हुन नसकेपछि थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

–रासस



प्रतिक्रिया दिनुहोस !