३ जेष्ठ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कालीगण्डकी दोहनले मालढुंगाको पुल जोखिममा

प्रकाशित मिति :  ३ असार २०७८, बिहीबार १०:२३


गलकोट । बागलुङ र पर्वत जिल्ला जोड्ने गरी पहिलोपटक निर्माण गरिएको मालढुंगाको मोटरेवल पुल नदी दोहनको चपेटामा परेको छ ।

पुलको पर्वत खण्डको मुख्य पिल्लरमा नदीको बहावबाट क्षति भए पछि सडक डिभिजन कार्यालयले मर्मत थालेको छ । निरन्तर रुपमा प्रहरी प्रशासनको आँखै अगाडि दोहन भइरहेको कालीगण्डकी नदीको अहिले धारै समेत परिवर्तन भइरहेको छ । दोहनमा संलग्नलाई पक्राउ र कारबाही त कता हो कता, यही बीचमा नदीकै पुल मर्मत कार्य गर्ने प्रयासमा भने प्रहरीले अनावश्यक रुपमा सकस दिएको खुलेको छ ।

अहिलेको मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ खण्डमा  पर्ने पर्वत र बागलुङ जोड्ने मालढुंगाको मोटरेवल पुल मर्मत गर्न खटिएकालाई भने दोहन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
ठेक्का सम्झौता पश्चात पुल मर्मतको कार्य थालेको निर्माण व्यवसायीलाई जिल्ला प्रशासन कार्यालय पर्वतले नदी दोहन गरेको आरोपमा पक्राउ गरेपछि पुल मर्मत कार्य रोकिएको छ । सडक डिभिजन कार्यालय बागलुङका अनुसार पुलको माथि पाँच सय मिटर र पुलकोे तल एक किलोमिटर सम्म नदीजन्य बस्तु उत्खनन् गर्न नपाइने नियम छ । तर, मालढुंगाको पुलको एक सय मिटर भित्रै नदी दोहन हुँदा टुलुटुलु हेरेर बस्ने प्रहरी प्रशासन पुल मर्मतमा भने अनावश्यक रुपमा अबरोध गरिरहेको छ ।

जिल्ला प्रशासन कार्यालयले नदीजन्य बस्तुको ठूला औजारको प्रयोग गरी उत्खनन् गरेकालाई कारबाही नगर्ने तर, मालढुंगा पुल मर्मतका लागि खोलामा गएको स्काभेटरलाई नदी दोहन गरेको आरोपमा पक्राउ मात्र होइन, एक दिन थुनेर २५ हजार जरिवाना तिराएको छ ।

केही दिन अगाडि पुल मर्मतका लागि नदीमा गएर पर्खाल पुर्ने कार्य गरिरहेको डोजरलाई कारबाही गरेको पुल मर्मतको ठेक्का पाएको कालिका निर्माण सेवाका प्रतिनिधि रामचन्द्र शर्माले जानकारी दिनुभयो । ‘हामीले कानून सम्मत रुपमा सडक डिभिजन कार्यालयबाट ठेक्का स्विकृत गरी पुल मर्मत कार्य आरम्भ गरिरहेको अवस्थामा  दोहनकारी भन्दै पर्वत प्रशासनले पक्राउ गरेको थियो’, शर्माले भन्नुभयो, ‘पर्वत खण्डको पिल्लर तलको पर्खाल गत वर्ष भत्केको र पर्खाल भित्र पसेको बालुवा निकालेर पर्खाल लगाई पुनः पुर्ने क्रममा नदीमा स्काभेटर हालेको आरोपमा २५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।’ यो हामीलाई कारबाही गरेको देखाएर वास्तविक दोहनकर्तालाई चोख्याउने षड्यन्त्र भएको उहाँको भनाई छ ।

अहिले नदीको वहाब बढी रहेको सन्दर्भमा पुल मर्मत कार्य रोकिँदा मालढुंगाको पुल जोखिममा रहेको छ ।

मालढुंगाको पुल तथा खनियाघाटको सडक मर्मतका लागि ०७७ चैत्र १८ गते ०७८ असार २५ सम्म निर्माण सक्ने गरी ठेक्का स्वीकृत गरिएको भए पनि अहिले पुल मर्मत कार्यामा अवरोध भएको सडक डिभिजन कार्यालयका इन्जिनियर सुरेन्द्र गौतमले जानकारी दिनुभयो । नदी दोहन गरेको आरोपमा पुल मर्मत गर्न नदीमा गएको स्काभेटर चालक तथा निर्माण व्यवसायीलाई फक्राउ गरी जरिवाना तिराए पछि समस्या भएको उहाँको भनाई छ ।

पुल मर्मत मात्रै गर्न १६ लाख रुपैयाँ खर्च छुट्टाइएको छ । तर पर्वत प्रशासनले अनुमति वेगर पुल मर्मत गरेको भन्दै निर्माण कार्य रोकेको छ ।

सडक डिभिजन कार्यालयले आफ्नो कार्यालय अन्तर्गतका पुल तथा पुलेसा स्वतन्त्र ढंगले मर्मत गर्दै आएको जनाए पनि मालढुंगाको पुल मर्मतमा सरकारी पक्षकै अवरोध रहेको जनाएको छ । पुलमा क्षति पुर्‍याउँदा मालढुंगाको बस्ती समेत जोखिममा पर्ने सडक डिभिजन कार्यालयको भनाई छ ।

यस विषयमा पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डेयले पुल मुनिबाट धेरै बालुवा निकाल्दा पुलनै जोखिममा पर्ने भएकाले कारबाही गरेको बताउनुभयो । पुल भन्दा सय मिटर तल दोहन भएको किन देख्नु भएन नि भन्ने प्रश्नमा प्रजिअ पाण्डेयले पालिकाले लगाएको ठेक्कामा आफू केही बोल्न नमिल्ने बताउनुभयो । उहाँले पुल मर्मत गर्न पुल मुनी नै बढी बालुवा निकाल्दा पुल झनै जोखिममा पर्ने भएकाले कारबाही गरेको जिकिर गर्नुभयो ।

खानेपानी अवरुद्ध

अविरल वर्षाले बजार क्षेत्रभित्र ल्याएको खानेपानीको पाइप बाढिपहिरोले क्षति पुर्‍याएको छ । बागलुङ बजारमा रेश खोला मुहान, भुदी खोला मुहान र रिठ्ठेखोला मुहानबाट ल्याइएको पानीको पाइप विभिन्न स्थानमा बाढिपहिरोले क्षति पुर्‍याएको हो । पहिरोले पाइप बगाउँदा बजार क्षेत्र भित्र पिउने पानी आपूर्ति हुन सकेको छैन ।

तीन वटै मुहानमा बाढीले क्षति पुर्‍याएको र अन्य स्थानमा पहिरोले पाईप बगाएपछि नियमित पानी सञ्चालन हुन नसकेको बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताउनुभयो । पहिरोकै कारण बागलुङ नगरपालिका वडा न ३ सुल्डॉडामा रहेको पानीको टयांकि देखि तलको भाग समेत बगाएको हुँदा टयांकि समेत थप जोखिममा परेको उहाँले बताउनुभयो ।

विभिन्न स्थानमा क्षति धेरै भएकोले मर्मत कार्य गर्न केही दिन लाग्ने संस्थाले जनाएको छ । वर्षा नरोकिएको कारण काम गर्न भने समस्या भइरहेको र बजार क्षेत्र भित्र सहज रुपमा पिउने पानी आउने केही दिन लाग्ने संस्थाले जनाएको छ । बागलुङ बजार क्षेत्र भित्र रिठेखोला मुहान, रेश खोला मुहान र भुदी खोला मुहानबाट पिउनको लागि पानी ल्याइएको छ । अहिले रिठेखोलाबाट ३.५ लिटर प्रति सेकेन्ड, रेशबाट १७ लिटर प्रति सेकेन्ड र भुदीबाट २० लिटर प्रति सेकेन्ड पानी दैनिक आउने गरेको छ  ।

-रासस



प्रतिक्रिया दिनुहोस !