६ जेष्ठ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

बडिमालिकाको घागरमा रहेको झोलुंगे पुल उच्च जोखिममा 

प्रकाशित मिति :  ३ असार २०७८, बिहीबार ०४:४६


बाजुरा । लगातारको वर्षाका कारण बुढीगंगा नदीलगायत अन्य सहायक नदीमा पानीको बहाव बढेपछि जिल्लाका दर्जनौँ झोलुंगे पुल उच्च जोखिममा रहेका छन् । जिल्लाको बडिमालिका नगरपालिका–२ घागरमा रहेको झोलुंगे पुल उच्च जोखिममा रहेको छ । पुलमाथि पानी पुग्ने र छेउछाउमा नदीले कटान गरेपछि पुलमा आवतजावत समस्या भएको छ ।

पुल जोखिममा परेपछि आवतजावतमा निकै समस्या भएको छ । गत वर्ष साउन २५ गते बुढीगंगामा आएको बाढीले चार वटा झोलुंगे पुल बगाएको थियो भने नदीमा रहेका दर्जनौँ पुल उच्च जोखिममा परेका थिए । जोखिममा बनेका पुललाई व्यवस्थापन तथा मर्मत नगर्दा वर्षा सुरु भएयता दर्जनौँ पुल बाढी र पहिरोको उच्च जोखिममा रहेको बडिमालिका–२ का वडाध्यक्ष डम्मर महतले बताउनुभयो ।

कर्णालीको पिलिचौरमा रहेको झोलुंगे पुल सधैँ वर्षाको समयमा जोखिम बन्ने गरेको छ । त्योसँगै कर्णाली नदीमा रहेका आधा दर्जन पुल जोखिममा छन् । बाजुराको उत्तरपूर्वी क्षेत्रका वाई र वाधु जोड्ने पुल, गोत्री साप्पाटा पुल, बाजुराको रुगिन र मुगु जोड्ने पुल तथा बाजुरा हुम्ला जोडने पुल जोखिममा रहेको स्वामीकार्तिक खापर गाँउपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले जानकारी दिनुभएको छ । पुललाई छोप्ने गरी कर्णाली नदीको बहाव बढेपछि बाजुराका कर्णालीपारिका वाई, साप्पाटा, जुकोट क्षेत्रमा आवागमन प्रभावित भएको अध्यक्ष शाहीको भनाइ छ ।

अछाम र बाजुरा जोड्ने पुल, बाजुर्गाड, गुइगाड, कोर्दालीगाड, घटमुना, बाहुली खोला, पानीलाउला, दहकोट, मौरे, कोटिलाको दैयालगायतका नदीमा रहेका झोलुंगे पुल पनि जोखिममा बनेको स्थानीयवासीले बताएका छन् । अन्य विकल्प नभएपछि ज्यानै बाजी राखेर पुलमार्फत आवतजावत गर्नुपरेको बडिमालिका–२ का स्थानीयवासी करवीर नाथले बताउनुभयो ।

धेरै स्थानका पुल वर्षौँदेखि जोखिममा भए पनि कसैले वास्ता गरेको छैन । केही झोलुङ्गे पुलको दुवबैतिर बगाएर पुलनै बगाउने सम्भावना रहेको छ । सरकारले जोखिममा रहेका पुलमा आवतजावतसमेत बन्द नगर्दा झन् जोखिम बढेको छ । ‘अर्को विकल्प नभएपछि बाध्य भएर जोखिममा रहेका पुलबाटै आवतजावत गर्ने गरेका छौँ’, बडिमालिका–२ का डब्बले महतले भन्नुभयो ।

बाजुरामा झोलुंगे पुल उच्च जोखिममा रहेपछि स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बताउनुभयो । केही स्थानमा रहेका पुलमा पानी सतह बढेको बेला आवतजावत नै बन्द गरिएको छ ।

–रासस



प्रतिक्रिया दिनुहोस !