३ जेष्ठ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा

प्रकाशित मिति :  २ असार २०७८, बुधबार ०४:४५


चितवन । नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो ।

सो समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको थियो ।

नारायणी बेसिन कार्यालय भरतपुका हाइड्रोलोजिस्ट रामविकेश रायले कार्यालयले सन् १९६२ फेब्रुअरी १० देखि जलस्तर मापन सुरु गरेको बताउनुभयो । उहाँका अनुसार सन् १९७४ अगष्ट ५ मा नारायणीको जलस्तर १० दशमलव एक मिटर र १५ हजार तीन सय घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो ।

सोही १० दशमलव एक मिटरलाई विगतमा उच्च विन्दु मानिँदै आएको थियो । सो विन्दुको रेकर्ड गए राति तोडिएको उहाँले जानकारी दिनुभयो । रायले भन्नुभयो, ‘सन् १९६२ यताकै सबैभन्दा बढी गए राति मापन गरिएको छ ।’ यसबीचको अवधिमा सन् २०१८ को बर्सातमा १४ हजार घनमिटर प्रतिसेकेण्ड बहाव र तह नौ दशमलव छ मिटर रहेको उहाँले जानकारी दिनुभयो ।

सन् १९६३ देखि हालसम्मको तथ्याङ्कलाई हेर्दा नारायणीको शिरतर्फका क्षेत्रमा सबैभन्दा बढी पानी यस वर्ष परेको देखिन्छ । सन् २०१३ मा १३ हजार घनमिटर प्रतिसेकेण्ड नारायणीको बहाव मापन भएको थियो ।

नारायणी नदीको खतराको तह आठ मिटर र बहाव नौ हजार नौ सय ९२ घनमिटर प्रतिसेकेण्ड रहेको छ । यसको चेतावनी तह सात दशमलव तीन मिटर र आठ हजार चार सय ६० घनमिटर प्रतिसेकेण्ड रहेको छ ।

–रासस



प्रतिक्रिया दिनुहोस !