३ जेष्ठ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

लुप्रा खोलामा बाढी, १५ घर जोखिममा

प्रकाशित मिति :  १ असार २०७८, मंगलवार ०९:३९


मुस्ताङ । बाढीका कारण मुस्ताङमा १५ घर उच्च जोखिममा परेका छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा खोलामा बाढी आएको हो । हिजो दिउँसो आएको लेदोसहितको बाढीले खोला किनारका १५ घर जोखिममा परेका हुन् ।

लुप्रा गाउँका सबै घर जोखिममा परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

सोमबार दिउँसो लुप्रा खोलामा एक्कासि लेदोसहितको बाढी आएको गाउँपालिका प्रमुख फेञ्चोक छेप्तेन गुरुङले जानकारी दिनुभयो । ‘माथितिर जमेर बसेको हिउँ हुन्छ । त्यही हिउँ पग्लने र एकैचोटी ठूलो पानी पर्दा बाढी आएको हो’, उहाँले भन्नुभयो । अहिले सो क्षेत्रमा निरन्तर बर्षा भैरहेको छ ।

खोलामा बाढी आएको जानकारीपछि जिल्लाका सुरक्षा निकायबाट उक्त क्षेत्रको अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले हिमताल फुटेकोबारे जानकारी नभए पनि हिमपहिरोको सम्भावना भएको बताउनुभयो ।
–रासस



प्रतिक्रिया दिनुहोस !