३ जेष्ठ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अन्नपूर्ण गाउँपालिकाले व्यावसायिक तालीममार्फत युवालाई स्वरोजगार बनाउने

प्रकाशित मिति :  १ असार २०७८, मंगलवार ०८:५६


कास्की । अन्नपूर्ण गाउँपालिकाले व्यावसायिक तालीममार्फत युवालाई स्वरोजगार बनाउने किसिमका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सोमबार गाउँसभाको बैठकमा प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले सबै वडामा तालीममार्फत रोजगारी सिर्जना गर्न युवा रोजगार कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

गाउँपालिकाले तीन महिने हाउस वायरिङ, प्लम्विङ, ड्राईभिङ, सिलाई बुनाई, ब्युटिसियन ट्रेडिङ, हेयरकटिङ, वर्कसपलगायतका अन्य व्यावसायिक तालिममार्फत युवालाई स्वरोजगार तुल्याउने नीति लिएको छ ।

‘कृषि क्षेत्रको अभिवृद्धि अन्नपूर्ण गाउँपालिकाको समृद्धि’ भन्ने मूल नाराका साथ युवालाई कृषिमा आकर्षण गराउन युवा स्वरोजगार र युवा लक्षित कार्यक्रम सञ्चालन गरिनेछ अध्यक्ष कुँवरले बताउनुभयो ।

गाउँपालिकाभित्र एक घर एक बहुपोषणयुक्त करेसाबारीलाई विशेष आयोजनाका रुपमा अगाडि बढाइने बताउँदै उहाँले यस्तो करेसाबारीमा पुदिना, कुरिलो, कागती, तुलसी, मरहठ्ठी, लेमनग्रास, मेवा, धनियाँ, घ्युकुमारीजस्ता आयुर्वेदिक महत्व रहेका बिरुवाको उत्पादनसहित उपयोग गर्ने कार्यक्रम राखिएको बताउनुभयो ।

गाउँपालिकामा सङ्घीय सरकारबाट सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र गण्डकी प्रदेश सरकारबाट सञ्चालित मुख्यमन्त्री वातावरण मैत्री नमुना कृषि गाउँ कार्यक्रमलाई प्रभावकारी तुल्याउँदै त्यस क्षेत्रमा कृषिको विशेष पकेट क्षेत्र स्थापना गर्ने नीति अङ्गिकार गरिने गाउँपालिकाले जनाएको छ ।

हिमाली उच्च समस्थलीहरूमा जडीबुटी, सतुवा, चिराइतो, स्याउ र दाँतेओखर खेतीको लागि माटो परीक्षणलगायत स्थलगत अध्ययन गरी कृषकलाई त्यसतर्फ उत्प्रेरित गर्दै अनुदानमा विरुवा उपलब्ध गराइने गाउँपालिकाको योजना छ ।

स्थानीय तहमा उत्पादित खाद्यान्न सञ्चिती एवम् संरक्षण गर्ने र कुनै पनि प्रकारका खानेकुरा खेर नफाल्न पालिकाबासीलाई सचेतनाका साथ उत्पादन, उत्पादकत्व अभिवृद्धि गर्दै “खाना नफालौँ’ कार्यक्रमलाई विशेष अभियानका रूपमा सञ्चालन गरिने उहाँले बताउनुभयो ।

‘एक कृषक एक दुहुनो गाई/भैसी’ कार्यक्रम अभियानका रूपमा सञ्चालन गरी दूधलाई आफ्नो दैनिक आयआर्जनको माध्यम बनाउँदै दूध उत्पादनमा सहकारिताको विकास गरी पशुपालक कृषक समूहलाई गोठ निर्माण तथा भकारो सुधार कार्यक्रमलाई निरन्तरताका साथ उत्पादनका आधारमा अनुदान उपलब्ध गराउने भएको छ ।

स्थानीय स्रोत सीप साधन एवम् प्रविधिको प्रयोगलाई बढावा दिई परम्परागत रूपमा रहेका राडीपाखी, कम्बल, भाङग्रा, झोला बनाउने तानहरूलाई आधुनिकीकरण गरी व्यवसायिकताका साथ अन्नपूर्ण ब्राण्डको रूपमा विकास गरिनेछ अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्रका जलविद्युत् उत्पादनको सम्भावनालाई उजागर गर्दै साना तथा ठूला जलविद्युत् आयोजना सञ्चालन गर्न लगानीकर्तालाई आकर्षण गर्नुका साथै त्यस्ता आयोजनामा पालिकावासीको लगानी समेतको सुनिश्चि गरी जलविद्युत्तर्फको ‘एक घर एक शेयर सदस्य” हुने नीतिलाई अङ्गिकार गरी स्थानीयवासी समेत तीे आयोजनाबाट लाभान्वित हुने अवसरको सिर्जना गरिने अध्यक्ष कुँवरले बताउनुभयो ।

हस्तकलाका सामग्री र परम्परागत खाद्य पदार्थ (सिन्की, गुन्द्रुक, मह, कफी, अलैंची आदि) लाई यस गाउँपालिकाको विशेष ‘ब्राण्ड’को रूपमा स्थापित गरी निकासीजन्य वस्तु उत्पादन गर्न प्रोत्साहन गरिने उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्रका पर्यटकीय क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार संरचनाहरु निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । पर्यटकीय गन्तव्यको प्रर्वद्धन गर्न गाउँपालिकास्तरीय पर्यटन गुरुयोजना निर्माण गर्नुका साथै पर्यटकीय पूर्वाधार निर्माण, प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक पक्षहरुलाई समेटी डकुमेन्ट्री फिल्म निर्माण तथा ब्रोसर प्रकाशन गरिने उल्लेख छ ।

पर्यटकीय केन्द्र घान्द्रुकमा ‘फोटो सुट केन्द्र’ स्थापना गर्ने र सो गाउँलाई सांस्कृतिक गाउँको रूपमा घोषणा गर्नका लागि आवश्यक पूर्वाधार संरचना निर्माण गर्ने नीति लिइने कुँवरले बताउनुभयो । उहाँका अनुसार पालिकाभित्रका ऐतिहासिक एवं धार्मिक स्थलहरू भूमेको थान, आरोग्यमाई, शिवालय, पाउँदुरकोट, रिनिम्यो ढुङ्गा, मेश्रमबराह ताल, ढिकुरपोखरी, छहराकुना पार्कलगायतका सम्भाव्यस्थलको संरक्षण, सम्वद्र्धन र प्रचारप्रसार गरिने छ ।

छोम्रोङ माथि अन्नपूर्ण आधार शिविरमा कुनैपनि पूर्वाधार विकासका नाममा मेशिनरी औजारको प्रयोग नगरिने र यस क्षेत्रलाई पर्यावरण प्राकृतिक कुमारी क्षेत्र कायम राख्दै विपत् अवस्थामा तुरुन्त उद्धार गर्न सकिने व्यवस्था मिलाउनका लागि आवश्क पहल गरिने नीति तथा कार्यक्रममा भनिएको छ । आर्थिक वृद्धि, रोजगारी सिर्जना र आर्थिक स्थायित्व कायम गर्नका लागि कृषि, साना उद्योग, पूर्वाधारजस्ता उत्पादनशील क्षेत्रमा लगानी गर्नाका लागि गाउँपालिकाभित्रका सबै बैंक तथा वित्तीय संस्थालाई आवश्यक समन्वय गरिने अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।

‘एक गाउँ एक सडक’ निर्माण कार्यलाई निरन्तरता दिई अधुरा सडक ट्रयाकहरुको पूर्णताका साथै गाउँपालिका केन्द्र एवं मध्यपहाडी लोकमार्गदेखि वडा केन्द्रहरू जोड्ने रणनीतिक महत्वका सडक स्तरोन्नति गरी बाह्रै महिना सञ्चालन हुने अवस्थामा ल्याइने भएको छ । पालिकाभित्रका मुख्य बजार केन्द्रको रूपमा रहेका फेदी, नागँडाडा, ढिकुरपोखरी, काँडे, लुम्ले, नयाँपूल, बिरेठाँटी, घान्द्रुक, तिखेढुङ्गालगायतका स्थानमा स्थानीय समुदायको सहभागितामा शहरी सेवा सुविधा विस्तार गरिने अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।

मानव विकासका लागि प्राविधिक सीपसहितको गुणस्तरीय शिक्षा सार्थक बनाउका लागि शिक्षा क्षेत्रमा लगानी वृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । कोभिड–१९ महामारी र दैविक प्रकोपका कारणले पठनपाठनमा सिर्जना भएको अवरोधलाई दृष्टिगत गरेर सम्भव भएसम्म भर्चुअल कक्षा सञ्चालन, अनलाइन शिक्षा तथा टेलिभिजन एवं रेडियोमार्फत दूर तथा वैकल्पिक शिक्षा कार्यक्रमबाट अध्ययन अध्यापनको लागि पहल गरिने जनाइएको छ ।

सङ्घीय सरकारबाट खोप खरिदको लागि अनुमति प्राप्त भएमा खोप खरीदको लागि आवश्यक रकमको कमी हुन नदिई गाउँपालिकाबाट आर्थिक स्रोतको व्यवस्थापन गरी क्रमशः सबै नागरिकलाई खोप लगाउने व्यवस्था मिलाइने उहाँले बताउनुभयो ।

सङ्घ, प्रदेश सरकार र अन्य गैरसरकारी सङ्घसंस्थासँगको साझेदारीमा ‘एक घर एक धारा’ कार्यक्रमलाई निरन्तरता दिंदै आगामी बर्षभित्र सबै घरधुरीमा धारा जडान गरिनेछ अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।

सार्वनजिक सेवा प्रवाहलाई कागजरहित बनाई विद्युतीय शासन पद्धतिको क्रमशः लागू गर्दै जाने नीति अबलम्बन गरिने नीति तथा कार्यक्रममा भनिएको छ । नेपाल सरकारको सुशासनसम्बन्धी “म भ्रष्टचार गर्दिन, म भ्रष्टचार हुन दिन्न र जनताका लागि इमान्दार भएर काम गर्नेछु” भन्ने प्रतिज्ञासहितको कार्य संस्कृतिको प्रवद्र्धन गर्दै गाउँपालिकाबाट हुने सबै सेवा छिटो, छरितो र भ्रष्टचाररहित तुल्याउँदै भ्रष्टाचारमा शून्य सहनशीलता कायम गरिने जनाइएको छ ।

युवाहरुको क्षमता विकास र सशक्तीकरणका साथ उत्पादनमूलक कार्य र आयआर्जनका कार्यक्रम सञ्चालन गरिने अध्यक्ष कुँवरले जानकारी दिनुभयो । कोरोनाका कारण वैदेशिक रोजगार गुमाएर नेपाल फर्किएका युवाहरुलाई अवसरको रूपमा उपयोग गर्दै उनीहरुको अनुभव सीप क्षमताको समुचित प्रयोग गरी उनीहरूलाई उत्पादनमा आधारित कृषि, पशुपालन, पर्यटन, निर्माण, उद्योग र साना घरेलु उद्योगमा आधारित कार्यमा सहभागी गराई रोजगारका अवसर सिर्जना गरिने छ ।
–रासस



प्रतिक्रिया दिनुहोस !