७ जेष्ठ २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

शैलुङ्गमा चौँरी बढे

प्रकाशित मिति :  १ असार २०७८, मंगलवार ०५:१९


.

काठमाडौं । शैलुङको गहनाको रुपमा मानिने चौँरी प्रवर्धन कार्यक्रम सुरु भए पछि शैलुङ्गमा चौँरीको संख्या बढेको छ ।

रामेछापको दोरम्बा गाउँपालिकाले शैलुङ्ग क्षेत्रमा चौरी प्रवर्धन कार्यक्रम सुरु गरेपछि शैलुङ्गमा चौँरी गोठ र चौँरीको संख्या बढेको दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिं मोक्तानले बताउनुभयो ।

मोक्तानका अनुसार गाउँपालिकाले चौँरीपालक कृषकलाई प्रोत्साहित गर्न चौँरीको लागि आवश्यक औषधी, दाना लगायतमा सहयोग गरेको छ । जसले गर्दा किसानहरु चौरी पालन पेशा प्रति आकर्षित भएका छन् ।

गत साल शैलुङ्गमा रामेछापका किसानका पाँचवटा चौँरी गोठ थिए । अहिले सो संख्या बढेर १५ वटा पुगेको छ ।  शैलुङ्गमा दोलखाका केही चौँरी पालक किसानका चौँरी गोठ समेत छन् ।

यस वर्ष मात्रै चौँरी पालक किसानलाई प्रोत्साहित गर्न गाउँपालिकाले ५ लाख रुपैँया मूल्य बराबरको दाना सहयोग गरेको अध्यक्ष मोक्तानले बताउनुभयो । शैलुङ्गमा रामेछापको डडुवा, गौश्वारा लगायतका क्षेत्रका किसानका चौँरी गोठ छन् ।

शैलुङ्गमा चौँरीको दुधबाट नौनी, दुर्खा तथा छुर्पी उत्पादन हुने गर्दछ । यहाँ उत्पादित नौनी, दुर्खा र छुर्पीको बजारमा राम्रो माग छ । यहाँ उत्पादित दुधजन्य उत्पादन स्थानीय बजारदेखि काठमाडौंका ठूला होटल र विदेशसम्म पुग्ने गर्दछ ।

अहिले शैलुङ्गसम्म यातायात साधन पुग्ने भएकोले किसानलाई आफ्ना उत्पादन बिक्री गर्न कुनै समस्या छैन । व्यापारीहरु दुधजन्य सामाग्री खरिदको लागि किसानको गोठमा नै पुग्दछन् ।

यातायात पुगेकोले दाना औषधी तथा चौँरी बिरामी पर्दा पशुस्वास्थ्य कार्यकर्ता लैजान समेत निक्कै सजिलो भएको स्थानीय कृषक दावासंङ्बु शेर्पा बताउनुहुन्छ ।

चरन क्षेत्रको अभाव, बढ्दो रोग व्याधी र सम्बन्धित निकायको असहयोगको कारण चौँरी पालन पेशा नै छाड्न लागेका किसान स्थानीय सरकारको सहयोगका कारण पुनः चौँरीपालन पेशा प्रति आकर्षित भएका छन् ।



प्रतिक्रिया दिनुहोस !