१ जेष्ठ २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

अब सातामा पाँच अन्तर्राष्ट्रिय उडान हुने

प्रकाशित मिति :  १९ जेष्ठ २०७८, बुधबार ०६:४६


काठमाडाैं । चीन, टर्की र कतारका लागि  नियमित अन्तर्राष्ट्रिय उडान खुला भएकाे छ ।

जेठ १३ गते बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयानुसार मंगलबारदेखि लागू हुने गरी चीन, टर्की र कतारका लागि उडान खुला भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

भारतमा हुँदै आएको उडान पनि निरन्तर हुने प्राधिकरणले जनाएकाे छ । याेसँगै अब हरेक साता ५ वटा नियमित उडान हुनेछन् । चीन, टर्की र कतारका लागि साता मा १-१ तथा भारतका लागि सातामा २ वटा उडान हुनेछन्।

राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्सले हरेक साताको सोमबार काठमाडौं- दोहा (कतार)-काठमाडौं उडान भर्ने भएकाे छ । नेपाल एयरलाइन्स रातिको १० बजेर ५ मिनेटमा दोहा उड्ने छ भने भोलिपल्ट बिहान ९ बजेर १० मिनेटमा काठमाडाैं आइपुग्ने उडान तालिका तय भएको छ । नेपाल एयरलायन्सले हरेक साताको बुधबार काठमाडौं-दिल्ली (भारत)- काठमाडौं उडान पनि भर्ने प्राधिकरणले जनाएकाे छ ।

टर्किस एयरलाइन्सले हरेक साताकाे बिहीबार इस्तानबुल-काठमाडौं-इस्तानबुल उडान भर्नेछ । कतार एयरवेजले हरेक साताको सोमबार दोहा-काठमाडौं- दोहा उडान भर्ने छ।एयर इन्डियाले हरेक साताको शुक्रबार दिल्ली-काठमाडौं- दिल्ली उडान भर्ने तालिका तय भएकाे छ ।

काेभिड संक्रमण फैलिएपछि सरकारले गत वैशाख २३ गते रातिदेखि अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियाे । तर नेपाल एयरलाइन्स र एयर इन्डियाले नेपाल–भारतबीच सातामा १-१ वटा उडान भर्दै आएका थिए । चार्टर उडानमा पनि राेक लगाइएकाे थिएन । चीन, टर्की र कतारमा सातामा एक उडान हुने गरी जेठ १८ गतेदेखि सहज बनाएको हो ।

याे उडान तालिका जुन ३० सम्मका लागि हाे ।



प्रतिक्रिया दिनुहोस !