१ जेष्ठ २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्वल थापाको निधन

प्रकाशित मिति :  १८ जेष्ठ २०७८, मंगलवार १२:५५


काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वसंयोजक तथा विवेकशील नेपाली दलका संस्थापक नेता उज्वल थापाको निधन भएको छ ।

कोभिड संक्रमण भएपछि बिरामी पर्नुभएका थापाको ४४ वर्षको उमेरमा निधन भएको हो । मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज अपरान्ह ४ः२५ बजे उहाँका निधन भएको परिवारले जनाएको छ ।

उहाँको अन्तिम पटक गरिएको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको भए पनि परिवारले उहाँको अन्त्येष्टि भिडभाड नगरी साधारण तवरले सम्पन्न गर्ने इच्छा राखेकोले सम्भव भएसम्म उहाँको अन्तिम संस्कार गरिने कार्यक्रममा उपस्थित नहुन परिवार तथा शुभेच्छुकको तर्फबाट जारी वक्तव्यमा उल्लेख छ ।

उहाँले प्रभाव पारेका जिन्दगी र उहाँहरुका सफलता, नेपालको राजनीतिक प्रणालीको सुधार गर्न उहाँले गर्नुभएका हस्तक्षेप, युवालाई राजनीतिको मूलधारमा समावेश गर्न उहाँको उत्प्रेरणा तथा सहयोग लामो समयसम्म सम्झिरहने विज्ञप्तिमा जनाइएको छ । ‘त्यसलाई इतिहासले सकारात्मक किसिमले मूल्याङ्कन गर्नेछ भन्ने हामीलाई लागेको छ, उज्वल थापा व्यक्ति मात्र नभई, एउटा दर्शन र विचार पनि हो र सोहीमा उहाँ जीवन्त रहनु हुनेछ भन्ने हाम्रो अनुभूति हो, उहाँले देखेका सपना पूरा गरी हरेक नेपालीको मुहारमा खुसी ल्याउन हामी सबै दृढ संकल्पित छौँ’, परिवार र शुभच्छुकद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।



प्रतिक्रिया दिनुहोस !