३ जेष्ठ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

शव व्यवस्थापनमा महिला सैनिक

प्रकाशित मिति :  ७ जेष्ठ २०७८, शुक्रबार ०८:०४


जलेश्वर । महोत्तरी, जलेश्वर नगरपालिका –३ मलिवाराका कोरोना संक्रमित ८६ वर्षीय पुरुषको आज बिहान ज्यान गयो । होम आइसोलेशनमै ज्यान गुमाएका उनको शव व्यवस्थापनका लागि आफन्तले जिल्ला प्रशासन कार्यालय,  प्रहरी र सेनालाई खबर गरे ।  सो शव व्यवस्थापनमा नेपाली सेनाका महिला सैनिक खटिए ।

जिल्ला प्रशासन कार्यालयका अनुरोधमा जलेश्वरस्थित नेपाली सेनाको रणभीम गणबाट महिला सैनिक टोलीले मलिवारास्थित रातो नदीमा हिन्दू परम्परानुसार शव व्यवस्थापन गरेको  गणपति प्रमुख सेनानी शिवहरि केसीले बताउनुभयो ।

महोत्तरीमा कोरोना संक्रमितको शव व्यवस्थापनमा यसअघि पुरुष सैनिक मात्रै खटिँदै आएकामा अब महिला सैनिक पनि खटिन थालेका हुन् ।  रणभीम गणले पहिलो पटक सहसेनानी आरती राना मगरका नेतृत्वमा पाँच महिला सैनिकलाई संक्रमितको शव व्यवस्थापनमा खटाएको हो ।

ज्यान गुमाउनेको संख्या बढेपछि महिला सैनिक टोलीलाई यो काम गर्न भ्याइनभ्याइ छ । होम आइसोलेशनमा ज्यान गुमाएकाहरूको प्लाष्टिक वा डेथ बडी ब्यागमा बेर्ने गर्ने काम उनीहरुले गर्छन् । जोखिमपूर्ण मानिएको सो काममा उनीहरु आफैंँ खटिने मात्रै होइन संक्रमितको शव कसरी व्यवस्थापन गर्ने भनी स्वास्थ्यकर्मीलाई तालीम पनि दिन्छन् ।

महोत्तरीमा आजसम्म ज्यान गएका ४६ मध्ये १३ जनाको शव व्यवस्थापन गणले शव व्यवस्थापन कार्यविधि ०७७ अनुसार गरेको  रणभीम गणले जनाएको छ ।  प्रमुख सेनानी केसीले पुरुष, महिला तथा बालबालिकाको शव व्यवस्थापनका लागि तालिमप्राप्त महिला सैनिक खटाइएको बताउनुभयो ।

–रासस



प्रतिक्रिया दिनुहोस !