२ जेष्ठ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

तीन करोडको स्वास्थ्य सामग्री सहयोग

प्रकाशित मिति :  ६ जेष्ठ २०७८, बिहीबार ०५:३४


काठमाडौं । शंकर ग्रुप  र इन्फिनिटी होल्डिङ प्रालिले तीन करोड मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोभिड संक्रमण देखिएपछि ती दुई समूहले संयुक्तरूपमा देशका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।

समूहले वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, रुपन्देही प्रादेशिक अस्पताल र सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य सामग्री सहयोग गरेको हो । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवालले कोभिड महामारीको समयमा राज्यलाई परेको अप्ठ्यारोमा थोरै भए पनि सहयोग पुर्‍याउने उद्देश्यले स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामग्री सहयोग गरेको बताउनुभयो ।

उक्त समूहले केही दिनमै धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अत्याधुनिक तथा बहुउपयोगी अक्सिजन प्लान्ट जडानको तयारी  गरिरहेको छ । फ्रान्सबाट एयर लिफ्ट गर्न थालिएको नोभाएयर मेडिकल्स कम्पनीको अक्सिजन प्लान्टले ४५ शय्याका लागि ‘हाइ फ्लो’ र दैनिक सात सय लिटर अक्सिजन उत्पादन गर्नेछ ।

दुवै समूहको सहकार्यमा वीर अस्पतालको नयाँ भवनमा ५० शय्याका साथै त्यसका लागि आवश्यक म्याट्रेस, तन्ना, सिरानी र त्यसको खोललगायतका सामग्री हस्तान्तरण गरिएको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा आवश्यक अस्पताल तथा स्वास्थ्य संस्थाका लागि एक सय शय्याका साथै त्यसका लागि आवश्यक सामग्री हस्तानान्तरण गरेको जनाएको छ ।

शंकर र इन्फिनिटी समूहले चीनबाट मगाएका पाँच सय २० थान भल्भ्स र रेगुलेटरसहितका अक्सिजन सिलिण्डर सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र सशस्त्र प्रहरी अस्पताल बलम्बुलाई एकदुई दिनमै हस्तानन्तरण गर्ने बताएका छन् ।सुदूरपश्चिम प्रदेशका लागि तीन सय २० थान तथा कर्णाली प्रदेश र सशस्त्र प्रहरी अस्पतालका लागि १००-१०० थान सिलिण्डर हस्तान्तरण गरिने छ ।

समूहले सुदूरपश्चिम प्रदेशका लागि एक लाख ५० हजार थान मास्क र दुई सय थान पीपीइ सेट सहयोग गर्दैछ ।

– रासस



प्रतिक्रिया दिनुहोस !