६ जेष्ठ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

कर्णालीमा तत्काल अक्सिजन प्लान्ट स्थापना तथा संचालन गर्न माग

प्रकाशित मिति :  २ जेष्ठ २०७८, आईतवार १३:०२


कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश संसदीय दलले कर्णालीमा तत्काल अक्सिजन प्लान्ट स्थापना तथा संचालनका लागि आवश्यक बजेट र जनशक्ति व्यवस्थापन गर्न संघिय सरकारसँग माग गरेको छ ।

एमालेका प्रदेश इंचार्ज एवं प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वमा आज स्वास्थ्य मन्त्रालय पुगेको सांसदहरूको टोलीले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई भेटेर कोभिड–१९ को महामारीले कर्णालीको अवस्था जटिल बन्दै गएकाले गम्भीर बन्न ध्यानाकर्षण गराएको हो ।

स्वास्थ्यमन्त्री त्रिपाठीलाई ज्ञापनपत्र बुझाउँदै एमाले सांसदहरूले प्रदेश सरकार मातहतको प्रदेश अस्पतालमा तत्काल पाँच सय सिलिन्डर भर्न सकिने क्षमताको अक्सिजन प्लान्ट संचालन गर्न माग गरेका हुन् ।

ज्ञापनपत्रमा स्वास्थ्य मन्त्रालयसँग कर्णाली अस्पतालका लागि आवश्यक आइसियू, भेन्टिलेटरसहितका बेड, औषधिको व्यवस्थापन गर्न, जिल्ला अस्पतालहरुमा अक्सिजन सिलिन्डर उपलब्ध गराउन माग गरिएको छ । प्रदेश अस्पतालले अक्सिजन अभाव देखाउँदै कोभिड १९ का गम्भीर बिरामीको भर्ना नलिने सूचना जारी गरेपछि एमालेले प्रदेश सरकार र संघिय सरकारको ध्यानाकर्षण गराएको हो ।

एमाले नेता कँडेलले स्वास्थ्यमन्त्रीले कर्णाली प्रदेश अस्पतालका लागि अक्सिजन सिलिन्डर सहितका केही सामग्री पठाइसकेको र बाँकी छिटै पठाउने प्रतिवद्धता जनाएको बताउनुभयो ।

ज्ञापनपत्र बुझाउन कँडेल नेतृत्वमा सांसदहरू ध्रुवकुमार शाही, राजबहादुर बुढा, मोहन बानियाँ, पार्वतीकुमारी विसुन्के र गुलाबजंग शाह स्वास्थ्य मन्त्रालय पुग्नुभएको थियो ।

– रासस



प्रतिक्रिया दिनुहोस !