७ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राजनीति फेरियो, भारतले बुझ्नेगरी हिन्दीमै बोल्छु – प्रचण्ड

प्रकाशित मिति :  २१ चैत्र २०७७, शनिबार ०९:१६


काठमाडौं । नेपालको राजनीति फेरिएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतलाई बुझाउन हिन्दीमा बोल्नुभएको छ ।

कपिलवस्तुमा आयोजित जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले आफू कपिलवस्तु आउने चर्चा भारतमा चलेको सुनाउनुभयो । ‘म कपिलवस्तु आउने चर्चा भारतमा चलेछ, लखनउतिर पनि प्रचण्ड आउँदैछ भन्ने चर्चा चलिरहेको रहेछ’– प्रचण्डले भन्नुभयो ।

भारतीय पत्रकारहरु पनि आफू सहभागी कार्यक्रममा आएका दाबी गर्दै प्रचण्डले उनीहरुलाई नेपालको राजनीतिक अवस्था बुझ्न सजिलो होस् भनेर हिन्दीमा भाषण गर्ने उद्घोष गर्नुभयो ।

प्रचण्डले भन्नुभयो – ‘भारतीय पत्रकाहरुलाई पनि सुन्न सजिलो हुन्छ, कपिलवस्तुवासीसहित भारतीयलाई पनि बुझ्न सजिलो पक्कै हुनेछ त्यसैले मैले हिन्दीमै भाषण गर्छु ।’ त्यसपछि हिन्दीमा भाषण थाल्नुभयो प्रचण्डले ।

त्यसअघि नेपालीमा सम्बोधन गर्नुभएका प्रचण्डले नेपाली राजनीतिले कोल्टे फेरेको बताउनुभयो । विशेषगरी काठमाडौंको राजनीति फेरिएको उहाँले बताउनुभयो । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेपछि राजनीतिले कोल्टे फेरेको उहाँले बताउनुभयो ।

साथीहरुले नयाँ सरकार गठन पहल गरिहाल्नुस् भन्दाभन्दै आफू कपिलवस्तु आएको बताउँदै प्रचण्डले भन्नुभयो – ‘मलाई अलि हतार छ तैपनि म तपाईंहरुसँग छु, चाँडै फर्कनुपर्नेछ, काठमाडौं गएपछि नयाँ सरकार गठनको काम सुरु हुन्छ, सम्भवत चाँडै नै नयाँ सरकार बन्छ ।’

-आईएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !