१५ चैत्र २०८०, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कृषि कर्म गर्न सहरबाट गाउँ फर्किए राई दम्पती

प्रकाशित मिति :  २४ फाल्गुन २०७९, बुधबार ०४:२९


काठमाडाैं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका सुमन राई सात वर्षअघिसम्म राजधानी काठमाडौँमा होटल व्यवसाय गर्नुहुन्थ्यो । काठमाडौँको सिनामङ्गलमा ‘होटल कल्पबृक्ष’ सञ्चालन गर्नुभएका उहाँको मासिक आम्दानी रु दुई लाखसम्म थियो । छोराछोरीलाई सुविधासम्पन्न ठाउँमा राखेर पढाउने उद्देश्यले २०६३ सालमा श्रीमती सवितासँगै काठमाडौँ छिर्नुभएका सुमन २०७२ वैशाखमा गएको भूकम्पपछि गाउँ फर्कनुभयो । नौ वर्ष काठमाडौँ बसेर गाउँ फर्कनुभएका राई दम्पती अहिले बुइपास्थित छिप्तीमा कृषि व्यवसायमा जम्नुभएको छ ।

यलम्बर नमूना कृषि फार्म दर्ता गरेर व्यावसायिक कृषि पेसा अपनाउनुभएका सुमनलाई श्रीमती सविताको साथ छ । पहिलो चरणमा रु २० लाख लगानी गरेर ७२ रोपनी जमिनमा कागती खेती सुरु गर्नुभएका राई दम्पतीले अहिले बिक्री गर्न थाल्नुभएको छ । छिप्तीस्थित आफ्नै खाली जमिनमा राई दम्पतीले उन्नत जातका एक हजार एक सय कागतीको बिरुवा रोप्नुभएको छ । गोडमेल गर्न मासिक रु १५ हजार तलब दिएर उहाँहरुले दुईजनालाई जागिरसमेत दिनुभएको छ ।

बहुउद्देश्यीय फार्म सञ्चालन गर्नुभएका राई दम्पतीले आवश्यक पर्दा अन्य कामदारसमेत लगाउँदै आउनुभएको छ । दिक्तेल बहुमुखी क्याम्पसबाट प्रमाणपत्र तह अध्ययन गर्नुभएका राई दम्पतीले उत्पादन गरेका कागती दिक्तेल बजार र काठमाडौँमा बिक्री गर्दै आउनुभएको छ । कागती प्रतिकिलो रु एक सय ५० देखि रु दुई सयसम्ममा बिक्री हुने गरेको सुमनले बताउनुभयो ।

“उत्पादन दिन थालेको पहिलो वर्ष एक हजार दुई सय किलो कागती बिक्री भयो । यस वर्ष टिप्न बाँकी छ”, उहाँले भन्नुभयो, “विगत वर्षमा भन्दा यस वर्ष बढी उत्पादन भएको छ ।”

राई दम्पतीको फार्मबाटै पनि कागती बिक्री हुने गरेको छ । फार्ममा हाल सबै बोट सेताम्मे भएर फुल्न थालेका छन् । केहीमा लटरम्म फलेका फल अझै टिप्न बाँकी छ । टिप्न ढिला भएका कारण केही फल भुइँमा झर्न थालेका छन् । कामदारलाई फल टिप्न, गोडमेल गर्न, पानी तथा मल हाल्न भ्याइनभ्याइ छ । हावापानीको हिसाबले सहरभन्दा गाउँ राम्रो भएकाले पुनः गाउँ फर्किएर कृषि व्यवसाय सुरु गरेको सुमनको भनाइ छ ।

“सहरमा गरिने दुःख आफ्नै गाउँमा गर्दा आनन्द आउँदो रहेछ”, उहाँले भन्नुभयो, “गाउँमा सयौँ रोपनी खेतीयोग्य जमिन बाँझो राखेर अर्काको ठाउँमा परिश्रम गर्नुभन्दा आफ्नै गाउँमा केही गरौँ भन्ने उद्देश्यले फर्किएको हुँँ । अबको केही वर्षमा कागती नै पर्याप्त आम्दानीको माध्यम बन्छ ।”

जग्गाजमिन पर्याप्त भएका राई दम्पतीले व्यावसायिक खेतीसँगै राँगा, सुँगुर र बाख्रासमेत पाल्नुभएको छ । विसं २०७३ देखि व्यावसायिक खेती सुरु गर्नुभएका उहाँहरुले यस वर्ष थप २५ रोपनी जग्गामा कागतीको नयाँ बिरुवा रोप्ने तयारी गर्नुभएको छ । अहिलेसम्म करिब रु एक करोड लगानी गरिसक्नुभएका राई दम्पतीले कागतीसँगै लिची र कफीको समेत व्यावसायिक खेती थाल्नुभएको छ । तीन वर्षअघि २२ रोपनीमा क्षेत्रफलमा लगाउनुभएको लिचीसमेत फल्न थालेको छ । यस वर्ष कफीको चार हजर बिरुवा रोप्ने तयारी छ ।

छिप्तीका सबै घरमा कफी उत्पादन गर्ने उद्देश्यले यस वर्ष २५ हजारभन्दा बढी कफीको बिरुवासमेत उत्पादन गरिएको हिमाली कफी उत्पादक कृषक समूहका अध्यक्षसमेत रहनुभएका सुमनले बताउनुभयो । “एकजनाले मात्र उत्पादन गरेर आम्दानी लिन सम्भव छैन । समूहमा १५ परिवार आबद्ध छौँ । सबैले उत्पादन थाले भने कम्तीमा एउटा सानो उद्योग सञ्चालन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “प्रशोधन नगरी बेच्दा बजार अभाव हुन्छ । थोरै उत्पादन बाहिर पु¥याउन सकिन्न । त्यसैले सबैले मिलेर उत्पादन गर्ने उद्देश्यका साथ यस पटक निःशुल्क बिरुवा वितरण गर्न लागेका छौँ ।”

कृषिका लागि उर्वरभूमि बुइपाका प्राय हरेक घर स्थानीय बासिन्दा केही न केही व्यावसायिक कृषि पेसामा जोडिएका छन् । एक हजार एक सय ३७ परिवारको बसोबास रहेको बुइपाका बासिन्दा लिची, कागती, चिया खेती तथा बङ्गुर, कुखुरा, बाख्रा एवं भैँसीपालन व्यवसायमा जोडिएका हुन् ।

कृषि उत्पादनलाई प्राथमिकतामा राखेर बुइपाका सबै सामुदायिक वनमा व्यावसायिकरुपमा कफी र एभोकाडो खेती गर्ने तयारी गरिएको वडाध्यक्ष दिनेश राईले बताउनुभयो । “सार्कीडाँडामा यसअघि नै ‘चम्पावती फुड्सफरेस्ट एण्ड रिसोर्ट’ निर्माणको काम सुरु गरिएको थियो”, उहाँले भन्नुभयो, “यो आर्थिक वर्षबाट बुइपाका सबै सामुदायिक वनमा कफी र एभोकाडोको व्यावसायिक खेती सञ्चालन गर्ने योजना बनाएका छौँ ।”

कृषिलाई पहिलो प्राथमिकता दिएको नगरपालिकाले समेत व्यावसायिक कृषि पेसा अपनाउने कृषकलाई अनुदान दिने व्यवस्था गरेको छ । पन्ध्र वडा रहेको यस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पकेट क्षेत्र निर्धारण गरेर कृषिमा लगानी गर्ने नगरसभाबाटै नीति तथा कार्यक्रम पारित गरेको छ ।
–रासस



प्रतिक्रिया दिनुहोस !