९ श्रावण २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रम ओली औद्याेगिक क्रान्तिका ‘बा’ घाेषित

प्रकाशित मिति :  १६ फाल्गुन २०७७, आईतवार ०९:३०


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली औद्योगिक क्रान्तिका ‘बा’ घोषित हुनुभएको छ । उहाँलाई चीन नेपाल मैत्री औद्योगिक पार्कका अध्यक्ष तथा नेकपाका युवा नेताले औद्योगिक क्रान्तिका ‘बा’ घोषणा गर्नुभएको हो ।

झापाको दमक, कमल र गौरादहको संगम झर्काहामा चीन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास समारोहमा प्रधानमन्त्री ओलीलाई औद्योगिक क्रान्तिका बा घोषणा गरिएको हो ।

नेपालको सबैभन्दा ठूलो तथा दक्षिण एसियाकै नमूना हाइटेक पार्कको शिलान्यास समारोहलाई सम्बोधन गर्दै सो पार्कका अध्यक्ष गोविन्द थापाले ओलीलाई औद्योगिक क्रान्तिको पिता घोषणा गर्नुभएको हो ।

नेपालको इतिहासमा गत तीन वर्ष जति कहिल्यै विकास नभएको विचार राख्दै अध्यक्ष थापाले नेपालमा आजका मितिबाट औपचारिक रुपमा औद्योगिक क्रान्ति सुरु भएको घोषणा गर्नुभयो । नेपाल अब पहिले जस्तो नरहेको विचार राख्दै अध्यक्ष थापाले चीन नेपाल औद्योगिक पार्क धरतीमा भन्दा आकाशमा बढ्ने बताउनुभयो । उहाँको भनाई थियो – ‘यो औद्योगिक पार्कको दर्जनौं तलाको भवनमा बहुराष्टिय कम्पनीका उद्योग बस्नेछन्, नेपालले कहिले नदेखेको विकास र समृद्धि देख्न गइरहेको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओली नेपालको औद्योगिक क्रान्तिका जनक, पिता, बा भएको विचार राख्दै गोविन्द थापाले सभामा प्रस्ताव राख्नुभयो, ‘केपी शर्मा ओलीलाई नेपालको औद्योगिकरणको बा घोषणा गर्दछु । यस प्रस्तावलाई अनुमोदन गर्न हार्दिक अनुरोध गर्दछु ।’

थापाको सो घोषणापछि उपस्थित जनताले ठूलो स्वरमा होहल्ला गर्दै, ताली पिट्दै समर्थन गरेका थिए । सो घोषणा लगत्तै अध्यक्ष थापाले नेपालको औद्योगिक क्रान्तिका बा केपी शर्मा ओलीको प्रतिमा स्थापना गर्ने घोषणा गर्नुभयो ।

समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले चीन नेपालमैत्री औद्योगिक पार्क नेपालको सबैभन्दा पारदर्शी र छिटो गतिमा बन्ने विकास आयोजना हुने घोषणा गर्नुभयो ।

दुई हजार दुई सय विघा क्षेत्रफलमा फैलिएको चीन नेपाल मैत्री औद्योगिक पार्क पहिलो चरणमा १३ सय बिघामा बन्दैछ । सो पार्कमा विश्वस्तरीय उद्योगहरु बस्ने, ती उद्योगका उत्पादन विदेश निर्यात हुने जानकारी थापाले दिनुभयो । उहाँको भनाई थियो – ‘आजबाट औद्योगिक क्रान्तिसँगै मेड इन नेपाल अभियान सुरु भएको छ । अब मेड इन नेपाल लेखिएका उच्चस्तरीय उत्पादन विश्व बजारमा जानेछ ।’



प्रतिक्रिया दिनुहोस !