१९ श्रावण २०७८, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

पार्टी एकतालाई ध्यानमा राखेर कमिटी भंग गर्ने निर्णय भएको हो-प्रदीप ज्ञवाली

प्रकाशित मिति :  १६ असार २०७८, बुधबार ०९:०९


काठमाडौं । नेकपा एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा नै फर्काउने निर्णय भएको छ ।

एमाले दाशौँ केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बुधबार बसेको बैठकले सो निर्णय गरेको हो । बैठक पछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले अदालतको निर्णय र पार्टी एकताको कुरालाई समेत ध्यानमा राखि सो निर्णय गरिएको जानकारी दिनुभयो ।

बैठकले २०७५ जेठ ३ अघि स्थायी कमिटीमा नरहनुभएका रघुजी पन्त लगायतका एमाले नेता तथा माओवादीबाट एमालेमा आउनु भएका रामबहादुर थापा बादल लगायतका एमाले स्थायी कमिटीमा हाल रहेका नेतालाई स्थायी कमिटी सदस्य बनाउने कुरालाई पनि बैठकले अनुमोदन गरेको छ । जसमा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्त तथा नेकपाबाट एमालेमा समाहित हुनुभएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा  थपिनुभएको छ ।

बैठकले पार्टी एकतालाई रचनात्मक र सिर्जनात्मक बनाउन नेता कार्यकर्तालाई आग्रह गरेको उहाँले जानकारी दिनुभयो । त्यस्तै भारतमा उपचाररत एमाले नेता झलनाथ खनालको स्वास्थ्य लाभको कामना समेत बैठकले गरेको छ ।

कोभिडका विरुद्ध सरकारले गरेका कामको समिक्षा गर्दै थप पहल गरेर अझ छिटो खोप व्यवस्था गर्न पार्टीले सरकारलाई आग्रह गरेको ज्ञवालीले जानकारी दिनुभयो ।

बाढी पीडितको पूर्नस्थापनाको लागि सरकारलाई पहल गर्न पनि बैठकले आह्वान गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस !