९ श्रावण २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राउटे समुदाय सुर्खेतबाट सल्यान जिल्लामा बसाइँ सरे

प्रकाशित मिति :  ११ असार २०७८, शुक्रबार ०४:१६


कर्णाली । फिरन्ते राउटे समुदाय सुर्खेतबाट सल्यान जिल्लामा बसाइँ सरेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका ९ दमारबाट यो समुदाय झण्डै १० वर्षपछि सल्यान पुगेको हो ।

गैरसरकारी संस्था राउटे उत्थान प्रतिष्ठानले राउटे समुदाय मङ्गलबार सुर्खेतबाट सल्यानको कालीमाटी गाउँपालिका–५ काल्चेडाँडामा बस्ती स्थानान्तरण गरेको जनाएको छ । प्रतिष्ठानका अध्यक्ष सत्यदेवी खड्का (अधिकारी) ले १० वर्षपछि राउटेहरु पुनः सल्यानमा पुगेको बताउनुभयो ।

हाल ४६ घरधुरीमा गरी राउटेहरुको संख्यामा एक सय ४३ रहेको छ । आफनो समुदायका सदस्यको ज्यान जाँदा बसाइँ सर्ने प्रचलन भएपनि राउटेहरु यसपटक गुर्भाकोट भेरी किनारमा गर्मी बढेपछि सल्यानतर्फ लागेको बताइएको छ । अछाम, दैलेख, सुर्खेतका विभिन्न जङ्गल क्षेत्र हुँदै उनीहरु सल्यान सरेका हुन् ।

गुर्भाकोट नगरपालिकामा रहँदा यही जेठ २१ गते दुई राउटे युवतीमाथि यौनजन्य हिंसाको घटना सार्वजनिक भएको थियो । प्रहरीले उक्त घटनामा संलग्न तीन युवालाई जबरजस्ती करणी र साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ । पहाडी जंगलमा फिरन्ते जीवनशैली बिताउने राउटे समुदाय नेपालकै लोपोन्मुख आदिवासीमा पर्दछ ।

सरकारले यस जातिको सुरक्षाका लागि प्रतिव्यक्ति मासिक तीन हजार प्रदान गर्दै आएको छ ।

–रासस



प्रतिक्रिया दिनुहोस !