९ श्रावण २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पत्रकारका आम समस्या समाधान गर्छै- नैनकला थापा

प्रकाशित मिति :  ३१ जेष्ठ २०७८, सोमबार १४:३६


काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले पत्रकारका आम समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै  पत्रकारलाई सरकारका कमजोरी औल्याउन आग्रह गर्नुभएको छ । मन्त्री थापाले सत्यतथ्य सूचनामा ध्यान दिएर समाचार प्रवाह गर्न पनि पत्रकारलाई आग्रह गर्दै पत्रकारलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन तत्काल पहल गर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघको प्रमण्डलसँग मन्त्री थापाले खोप लगाउन छुटेका पत्रकारलाई तत्काल खोप उपलब्ध गराउन आफूले स्वास्थ्य मन्त्रीसँग कुरा गर्ने जानकारी दिनुभयो ।  पत्रकारको हकहित र मागका सम्वन्धमा सकारात्मक रहेको र महासंघसँग समन्वय गरेर अघि बढ्ने उहाँको भनाइ थियो । उहाँले नयाँ बजेटमा व्यवस्था भएअनुरुप पत्रकारको निःशुल्क उपचार र सात लाख रुपैयाँको जीवन वीमाको विषयमा यही असारभित्रै कार्यविधि बनाई साउनबाट लागु गर्ने बताउनुभयो । सोही अवसरमा महासङ्घले मन्त्री थापालाई कोभिड –१९ ले पत्रकार तथा सञ्चार क्षेत्रमा पारेको प्रभाव बारेमा ध्यानाकर्षण गराएको थियो ।

महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कोभिड–१९ ले पत्रकार तथा सञ्चार क्षेत्रमा पारेको प्रभाव बारेमा अवगत गराउदै आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो ।

महासंघले कोरोना भाइरस संक्रमणको समयमा सञ्चारकर्ममा खटिएका पत्रकारले पारिश्रमिक नपाउने, सञ्चार गृहले पेशाबाट निकाल्नेलगायत समस्या देखिएको र समस्या समाधानमा मन्त्रालयले तत्काल संयन्त्र बनाएर अनुगमन गर्न तथा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारगृहलाई सरकारले उपलब्ध गराउने सेवाबाट बञ्चित गर्न आग्रह गरेको छ ।

त्यसैगरी पत्रकारलाई ‘फ्रन्टलाइनर’ घोषणा गरी राज्यबाट दिने सेवा, सुविधा उपलब्ध गराउन र कोभिडविरुद्धको भ्याक्सिन सहज तरिकाले लगाउने व्यवस्थाका लागि सहजीकरण गरिदिन पनि अनुरोध गरेको छ । देशभर झण्डै १ हजार पत्रकारमा कोरोना संक्रमण भएका छन् । हालसम्म २० जनाले ज्यान गुमाएका छन् ।

-रासस



प्रतिक्रिया दिनुहोस !