६ असार २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

पिप्ले–बन्दीपुर सडक कालोपत्र गरिँदै

प्रकाशित मिति :  २८ जेष्ठ २०७८, शुक्रबार ०४:००


तनहुँ । पहाडकी रानी उपनामले परिचित तनहुँको बन्दीपुर जाने सडक कालोपत्र गर्ने कार्य थालिएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत पिप्लेबाट बन्दीपुर बजारसम्मको करिब सात किलोमिटर सडक स्तरोन्नतिपश्चात कालोपत्र थालिएको हो । सडक विभागको ६ करोड रुपैयाँ र गाउँपालिकाको तीन करोड ६० लाख रुपैयाँ गरी नौ करोड ६० लाख रुपैयाँको लागतमा असार महिनाभित्र सम्पन्न गर्ने कालोपत्र कार्य सुरु गरिएको बन्दीपुर गाउँपालिका कार्यालयले जनाएको छ ।

सडकको दायाँबायाँ एक÷एक मिटर बढाएर निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । रिटेनिङ पर्खाल उठाउने ठाउँका लागि ठेक्का लगाई काम सुरु भएको छ । उहाँले भन्नुभयो, ‘नाला निर्माण ठेक्का लागे पनि ठेकेदार भागेकाले नालाबिनाको कालोपत्र गर्न लागिएको छ ।’

सडक साँघुरो भएका कारण ठूला पर्यटकीय गाडी बन्दीपुर जान कठिनाइ भएपछि अघिल्लो वर्ष सडक छ मिटरको चौडा बनाएपछि यस वर्ष कालोपत्रको काम गरिएको उहाँले बताउनुभयो । पिप्लेबजार र बन्दीपुर बजार क्षेत्रका करिब दुई किलोमिटर सात मिटरको फराकिलो सडक बनाइनेछ भने पाँच किलोमिटर छ मिटरको सडक हुनेछ ।

दुईतर्फी सवारी साधन गुड्न मिल्ने गरी सडक बनाइएको अध्यक्ष थापाले बताउनुभयो । उहाँका अनुसार पिप्लेबजार र बन्दीपुर बजार क्षेत्रको पुरानो कालोपत्र सडक पूरै भत्काएर पुनःनिर्माण गर्ने योजना छ ।

प्रत्येक वडा कार्यालयसम्म कालोपत्र 

बन्दीपुर गाउँपालिका मातहत रहेका ६ वटै वडा कार्यालयमा कालोपत्र पुर्‍याउने गरी काम गरेको छ । हरेक वडा कार्यालयमा कालोपत्र गर्ने अभियानअनुरुप वडा नं ६ मा जाने मार्गको करिब पाँच किलोमिटर कालोपत्र गरिसकेको प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले बताउनुभयो । उक्त वडा जाने सडकको बीच भागमा केही कालोपत्र गर्न बाँकी रहेकाले तुरुन्तै सम्पन्न गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी वडा नं ५ मा जाने सडक पृथ्वीराजमार्गअन्तर्गत पर्ने याम्पाबाट फराकिलो बनाई कालोपत्र गर्दै थुम्कासम्म पुगेकाले अबको केही दिनमा सम्पन्न हुने उहाँले बताउनुभयो । बाँकी चार वडामध्ये केही वडामा पुगिसकेको र कुनैको अन्तिम चरणमा रहेको सो गाउँपालिका कार्यालयले जनाएको छ ।

–रासस



प्रतिक्रिया दिनुहोस !