३ असार २०७८, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

डिआईजी सीपी गौतम : प्रदेश–२ मा सशस्त्र प्रहरीको शान र मान बढाउँदै

प्रकाशित मिति :  २७ जेष्ठ २०७८, बिहीबार ११:००


विक्रम केसी–

काठमाडौं । सीमा सुरक्षाको जिम्मा सबैको हो । सबैभन्दा धेरै नागरिकको हो । नागरिकसँग मिलेर सीमा सुरक्षा गर्ने निकायको नाम हो– सशस्त्र प्रहरी बल । नेपालको सबैभन्दा कान्छो सुरक्षा निकाय भए पनि महान जिम्मेवारी पाएको छ सशस्त्रले ।

र, यसले देशको सर्वाधिक अनुशासित र प्रतिष्ठित संस्थाका रुपमा पनि छवी बनाइसकेको छ । सशस्त्रको प्रदेश नम्बर दुईको जिम्मेवारी समाल्नुभएको छ प्रहरी नायव महानिरीक्षक (डिआईजी) चन्द्रप्रकाश गौतमले ।

सात महिना अघि जिम्मेवारी समाले लगत्तै उहाँले आफ्नो मातहतका १२ जना एसपीहरुलाई बोलाउनुभयो । कुनै पनि अवैध र अनैतिक क्रियाकलापमा संगठनका कसैलाई पनि लाग्न नदिन, अनुशासनको पूर्ण पालना गर्ने काममा निरन्तर लागेकोमा धन्यवाद दिनुभयो । त्यसपछि विगतमा भन्दा कडाईसाथ, होसियारीपूर्वक लाग्नु निर्देशन दिनुभयो ।

१२ मध्ये धेरैजना चन्द्रप्रकाको विद्यार्थी हुनुहुन्थ्यो, स्टाफ कलेज पढाउँदा ताकाका । स्टाफ कलेज पनि पढाउनुभयो चन्द्रप्रकाशले । त्यही भएकाले उहाँको निर्देशन र त्यसको गम्भीरतालाई एसपीहरुले गम्भिरतासाथ लिए ।

त्यो निर्देशनले शानदार परिणाम आउनेवाला थियो ।

सशस्त्र प्रहरीले प्रदेश २ मा चार सय ६४ किलोमिटर नेपाल–भारत सीमा हेर्छ । अत्यन्तै संवेदनशील र सुरक्षा चुनौतीयुक्त क्षेत्र हो यो । ७२ वटा बिओपी र ४९ वटा एफओबीबाट यो क्षेत्रमा निगरानी र नियन्त्रण गर्नु सशस्त्र प्रहरीका लागि सधैं चुनौती बन्दै आएको छ ।

निर्देशन पालना भयो कि भएन ? डिआईजी चन्द्रप्रकाशले अनुगमन र निगरानी थाल्नुभयो । आफ्नो निर्देशन अनुसार शानदार र चुस्तदुरुस्त ढंगले प्रदेशभरीका इकाईहरुले काम गरिरहेका थिए ।

केही ठाउँमा भने फरक अवस्था देखियो । त्यसपछि १६ वटा बिओपी कारवाहीमा परे । सशस्त्र प्रहरी बललाई प्रभावकारी बनाउन डिआईजी गौतमले अर्काे कदम पनि चाल्नुभयो । प्रदेशमा १०–१२ वर्षदेखि घुमुवाका रुपमा काम गरिरहेकाहरुलाई निगरानी गर्नुभयो । सूचना संकलनमा भन्दा अनियमिततामा संलग्न हुन रुची राख्ने ६४ जनालाई उहाँले अन्य प्रदेशमा पठाइदिनुभयो ।

सीमा रक्षक, जनताका संरक्षक

नेपालमा सुरक्षा संस्थाहरुमध्ये उमेरले कान्छो हो सशस्त्र प्रहरीबल नेपाल । तर, जिम्मेवारी भने महान पाएको छ । देशको सीमा रक्षाको काम पनि सशस्त्रकै काँधमा छ । अनुशासन र प्रभावकारी काममा संगठनका हरेक जिम्मेवारहरु लागिपरेका छन् । यो संगठनभित्रको जिम्मेवारी निर्वाहमा चाहिन्छ कुशल नेतृत्व, समर्पण, बौद्धिकता, प्रतिवद्धता । यो मामिलामा चन्द्रप्रकाश अर्थात् सीपी अब्बल मानिनुहुन्छ । संगठनमा उहाँलाई धेरैले छोटकरी नाम सीपी भनेर चिन्छन् ।

सशस्त्र प्रहरीले यहाँ ठूलो जनविश्वास पाएको छ । त्यही भएकाले सीमापार अपराधिक गतिविधि तथा अवैध ओसारपसार नियन्त्रणमा राम्रो सफलता पनि पाएको छ । यो सफलताका लागि सशस्त्रले भारतीय सीमा सुरक्षा बलको पनि सहयोग पाएको छ ।

भारतको सीमा रक्षाको जिम्मेवारी एसएसबीले गर्छ । दुवै देशका यी दुई निकायबीच राम्रो सम्बन्ध छ । निरन्तर बैठक, सम्पर्क तथा सरसल्लाह भैरहन्छ दुई देशका निकाय बीच ।

यो प्रदेशमा वीरगन्ज, गौर र भिट्टामोडगरी मुख्य तीन नाकामात्र खुल्ला गरेको छ । छोटी नाकाहरु पनि छन् । तर, प्रदेशका आठवटा जिल्लामा पर्ने सबै सीमा पूरै खुला छ । कैयन ठाउँमा नेपाल र भारत कुन हो भनेर छुट्याउन गाह्रो छ । आवतजावत खुला छ, अनुहार हेरेर दुई देशका नागरिक छुट्याउन सकिँदैन । त्यसैले सीमा रक्षामा सशस्त्रलाई चुनौती नै चुनौती छ । कुशल नेतृत्व र प्रभावकारी कार्ययोजना बिना यो क्षेत्रमा नियन्त्रण र निगरानी सम्भव छैन । यो मामिलामा सीपीको नेतृत्व सफल देखिन्छ ।

सशस्त्र प्रहरीको शान र मान बढाउने, पूरै प्रदेशका सीमामा उपस्थिति र नियन्त्रण जमाउने काम गर्नुहुन्छ चन्द्रप्रकाशले छिन्नमस्ता बाहिनीमा बसेर । उहाँको शरीर छिन्नमस्ता बाहिनीमा हुन्छ तर आँखा कान र मन हरेक बिओपी र एफओबीमा पुगेको हुन्छ । यति गरेर मात्र सशस्त्र प्रहरीको प्रदेश २ मा देखिएको सफलता हासिल भएको होइन । उहाँ आफैं बिओपी र एफओबीमा निरन्तर पुगिरहनुहुन्छ । सात महिना भयो सीपीले दुई नम्बर प्रदेशको जिम्मेवारी समाल्नुभएको छ । यो सात महिनामा सशस्त्र प्रहरी बलको काम र शाख दुवै उच्च भएको छ ।

दसगजाको दुर्दान्त

सशस्त्र प्रहरीको आँखा र कान दसगजामा मुख्य रुपमा केन्द्रीत हुन्छ । दसगजा भनेको नेपाल–भारत सीमामा बनाइएको १० गजको ‘नो मेन्स ल्याण्ड’ हो । दसजगजामा हुने सानो घटनाले पनि सलाइको काम गर्न सक्छ, त्यसले समस्यारुपी डढेलो फैलाइदिन सक्छ । अर्थात्, घटना त सानो हुन्छ तर त्यसले पार्ने प्रभावको आयतन ठूलो हुन्छ । त्यसैले हरपल चनाखो हुनुपर्छ ।

सीमा क्षेत्रमा खटिएका अन्य सुरक्षा निकायका अधिकारीहरुले पनि भन्ने गरेका छन्– दशगजा भनेको समस्या नै समस्याको क्षेत्र हो । सशस्त्र प्रहरीको प्रदेश २ मा रहेको छिन्नमस्ता बाहिनीका लागि पनि दसगजा अत्यन्तै संवेदनशील छ । विभिन्न ठाउँका दसगजामा पहिले देखि नै समस्या छ । ती समस्या कहिले बल्झन्छ कसैलाई थाहा छैन । समस्या बल्झनासाथ हर्कतमा आउन तम्तयार भएर बस्नुभएको छ डिआईजी सीपी गौतम । सशस्त्रले भारतको एसएसबीसँग मिलेर सीमामा ‘जोइन्ट पट्रोल ’ गरेर सीमा क्षेत्रका जनतालाई सुरक्षाको आभास गराएको छ । दसगजा क्षेत्र अतिक्रमण गरेर कसैले नयाँ संरचना बनाउन लाग्यो भने दुवै पक्ष मिलेर हटाइहाल्छन् ।

उहाँले सीमा निगरानीका लागि स्थानीय सरकारका वडा अध्यक्षहरु, नागरिक अगुवाहरु र विओपी कमाण्डर सहीतको सीमा निगरानी समिति बनाउनुभएको छ । हालसम्म ५३ वटा समिति बनाइएको छ । अर्थात्, सशस्त्रले जनताको साथ लिएर सीमा सुरक्षा गरिरहेको छ ।

सीमाबाट हुने अवैध आयात नियन्त्रणमा पनि सशस्त्र प्रहरी बल दुई नम्बर प्रदेशले ठूलो सफलता पाएको छ । प्रदेशभरी सीमा प्रवेश गर्ने नाकाहरुमा र राजमार्गमा दुई सय वटा सिसी क्यामराले अनियमितता नियन्त्रणमा धेरै नै सघाउ पुराएको छ ।

कोभिडले दिएको सास्ती, सशस्त्रको चुनौती

महामारीको यो बेला सशस्त्र प्रहरी बल सीमाको निगरानी र सुरक्षामा मात्र सिमित हुन पाएको छैन । भारतमा रहेका नेपालीहरु स्थलमार्ग हुदै नेपाल आउने मुख्य नाकाहरु यही प्रदेशमा पर्छ । स्वदेश भित्रिने नेपालीलाई नाकामै हात धुन लगाउने, मास्क फेर्न लगाउने र सेनीटाइज गर्ने व्यवस्था गरेको छ । त्यसपछि सशस्त्रले स्वदेश फर्किएका नेपालीको ज्वरो नाप्छ, स्वास्थ्य अवस्था सोधखोज गर्छ । शंका लागेमा एन्टिजेन परीक्षण गराउँछ र रिपोर्ट आएपछि मात्र सम्वन्धित स्थानीय निकायसँग समन्वयन गरी गन्तव्य तर्फ पठाउँछ । रिपोर्ट पोजेटिभ आएमा पिसिआर जाँच गर्न नजिकैको कोभिड अस्पतालमा पठाउने गरेको छ ।

यो सबै काम सीमा नाकामा सशस्त्र प्रहरी बलले व्यवस्था गरेको नागरिक साहायता कक्षले गर्छ । अँ, त्यहाँ मास्क, स्यानेटाइजर मात्र दिइँदैन, महिलालाई सेनिटरी प्याडसमेत व्यवस्था गरिएको छ ।

अथात्, सीमा नाकामा आइपुगेका नेपालीलाई आफ्नो मातृभूमि आइपुगें र सुरक्षीत छु भन्ने अनुभूति पनि सशस्त्र प्रहरी बलले दिलाउने गरेको छ ।

आफ्नै सुरक्षामा यस्तो

सशस्त्र प्रहरीले कोभिडबाट आफ्नै सुरक्षा चाहिँ कसरी गर्छ ? सनराइज खबर टिमले यो पनि जानकारी लिएको छ । डिआईजी गौतमले कोभिडबाट जोगिन मातहतलाई कडा निर्देशन दिनुभएको छ । स्वास्थ्य रक्षाका यावत मापदण्ड कडाईसाथ पालना गर्न भन्नुभएको छ । हरेक युनिटमा क्वारेन्टाइन र आईसोलेसन बनाउनुभएको छ । प्रदेश सरकारसँग समन्वयन गरेर हरेक युनिटमा थर्मल गन, अक्सिमिटर, मास्क, पञ्जा, फेस सिल्ड, सेनीटाइजर, पीपीइ लगायतका स्वास्थ्य सामाग्री पठाइएको छ । संक्रमण नफैलियोस भनेर सँगै ड्युटी गर्नेहरुलाई एकै ठाउँमा बस्ने, खाने व्यवस्था गरिएको छ । कोही संक्रमित भएमा आईसोलेसनमा राखेर उपचार गराइन्छ, स्वास्थ्य बिग्रिएमा काठमाडौं स्थित सशस्त्र प्रहरी अस्पताल पठाइन्छ । अहिलेसम्म पाँच जना विरामीलाई काठमाडौं पठाइएको छ ।

हालसम्म ७३ जना सशस्त्र प्रहरी संक्रमित भएका छन् । अहिले सक्रिय संक्रमित १९ जना छन् । खुसीको कुरा के भने अहिलेसम्म कोरोनाका कारण २ नम्वर सशस्त्र प्रहरीमा कसैले पनि ज्यान गुमाउनु परेको छैन ।

ती चन्द्रप्रकाश र यी सीपी

ताप्लेजुङको खेवांगमा जन्मिएर तेह्रथुमको आठराई मावलीमा हुर्किनुभएका चन्द्रप्रकाशलाई डाक्टर बन्ने रहर थियो तर भाग्यले सशस्त्र प्रहरी बलमा ल्याइदियो । रसायन शास्त्रमा एमएससी गौतमले करिब २६ वर्षको सेवाकालमा अनेक चुनौतीपूर्ण तथा बौद्धिक जिम्मेवारी वहन गर्ने मौका पाउनुभएको छ ।

स्कुले जीवनमा पढाई उत्कृष्ट थियो तर जीवन भने फिरन्ते बन्यो । कहिले तेह्रथुम, कहिले झापा गर्दै विभिन्न विद्यालय पढ्नुभयो । ०४३ सालमा एसएलसी सकेर विज्ञान पढ्न काठमाडौंको अमृत साइन्स क्याम्पसमा भर्ना हुनुभयो । तर, होस्टलमा सिट पाउनुभएन । आर्थिक अभावले कोठा भाडामा लिएर बस्न सम्भव भएन । त्यसपछि राजधानी छोडेर महेन्द्र मोरङ क्याम्पस विराटनगर पुग्नुभयो । आइएससीको परिक्षा दिएर तेह्रथुमको आठराई पुगी गणित र विज्ञान शिक्षक बन्नुभयो । ०४६ को जनआन्दोलनको समयमा डाक्टरी पढ्न काठमाडौं आउनुभयो । तर, भाग्यले साथ दिएन, फेरि अमृत साइन्समा भर्ना भएर बिएससी पढ्न थाल्नुभयो । साथी मदन उप्रेती र नवीन देउजासँग मिलेर बागबजारमा ‘एबिसी ल्याङग्वेज एण्ड ट्युसन सेन्टर’ खोलेर त्यसमै पढाउन थाल्नुभयो ।

बिएस्सी सकेर मास्टर्स पढ्न थालेपछि जागिरे जीवनको सुनौलो मोड आयो । शाखा अधिकृतको लोकसेवामा नाम निस्कियो तर अन्र्तवार्ता अगावै नेपाली सेनाको अधिकृत क्याडेडको तालिममा जानुभयो । खरिपाटीमा तालिम गरिराखेका बेला विदेशमा तालिमका लागि छनौट भएर भारतको देहरादुनमा समेत अधिकृत तालिम लिन जानुभयो । अर्थात्, उहाँले निजामती छाडेर सेना रोज्नुभयो ।

सेनाको तालिमले चन्द्रप्रकाशलाई अझ तिखार्यो, निखार्यो । त्यो बेलामा केमेस्ट्रीमा मास्टर्स सकेको मान्छे सेनामै किन भर्ना भएको भन्नेहरु पनि थिए ।

करिव ५ वर्ष नेपाली सेनामा बिताएपछि संयुक्त राष्ट्रसंघको शान्ति सेनाका रुपमा पहिलोपटक पूर्वी टिमोरमा शान्ति स्थापनार्थ जानुभयो ।

सशस्त्र प्रहरी बल गठन भएपछि नेपाली सेनाको क्याप्टेनबाट सशस्त्र प्रहरीको डिएसपीका रुपमा जिम्मेवारी समाल्न आउनुभयो ।

सशस्त्र प्रहरीमा आएपछि द्वन्द्वकालमा देशका विभिन्न क्षेत्रमा पुग्नुभयो । शान्ति मिसनका लागि ५ मिसनमा विश्वका विभिन्न देश जानुभयो । राष्ट्र संघ अन्तर्गत काम गर्ने सिलसिलामा ७२ देश पुग्नुभयो ।

अनुभवले ज्ञान बढायो, ज्ञानले कामलाई प्रभावकारी बनायो । त्यसैले अहिले प्रदेश २ को सशस्त्र प्रहरीको नाम, काम र प्रतिष्ठामा डिआईजी चन्द्रप्रकाश गौतमको ज्ञान, बौद्धिकता र कुशल नेतृत्व क्षमताको गहिरो छाप देखिन्छ ।



प्रतिक्रिया दिनुहोस !