१७ श्रावण २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

२० प्रतिशत युवालगायतलाई नीतिगत तहमा समेट्ने- अध्यक्ष दाहाल

प्रकाशित मिति :  २२ जेष्ठ २०७८, शनिबार ०९:१४


कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकसहित समाजका धेरै वर्गका माग सम्बोधन गर्न २० प्रतिशत युवालगायतलाई नीतिगत तहमा समेटेर लैजाने अवधारणा बनाइएको बताउनुभएको छ  ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिद्वारा आज आयोजित ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’को भर्चुअल उद्घाटन समारोहका क्रममा अध्यक्ष दाहालले संविधान, लोकतन्त्र र राष्ट्रियता रक्षाका विषय जनताका बीचमा पुर्‍याउन शिक्षकलाई आग्रह गर्नुभयो ।

‘नेपाली मौलिकताको जनवादी क्रान्तिको कोर्स पूरा भए पनि साम्राज्यवादविरुद्धको लडाइँ बाँकी नै छ’, उहाँले भन्नुभयो, ‘समाजवादी क्रान्तिबाट सामन्तवादका अवशेष समाप्त पार्न कम्युनिष्ट एकता र आन्दोलनबाट मात्र सम्भव छ ।’

उहाँले चुनाव घोषणा गरिसकेको सरकारले संविधान प्रतिकूल मन्त्रिपरिषद् पुनः गठन गरेको जिकिर पनि गर्नुभयो ।  उहाँले यतिबेला कोरोना महामारीविरुद्ध सबै एकताबद्ध भएर जुध्न पनि अनुरोध गर्नुभयो ।

सो अवसरा संगठनकाभ केन्द्रीय अध्यक्ष शंकर अधिकारीले सरकार र राजनीतिक दलले शिक्षकका माग  बेवास्ता गरेको आरोप लगाउनुभयो । अध्यक्ष अधिकारीले भन्नुभयो,’सेना, प्रहरी र निजामती कर्मचारीलाई विभिन्न सेवा दिँदै गर्दा यो मुलुकभित्रकै श्रमजीवी शिक्षकलाई विभेद किन ?’

कार्यक्रममा सातै प्रदेशका अध्यक्षले संगठनको प्रतिवेदन प्रस्तुत गरेका थिए । सो भर्चुअल ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’मा करीब एक हजार शिक्षकको सहभागिता रहेको संगठनका केन्द्रीय महासचिव निमबहादुर केसीले जानकारी दिनुभयो ।

–रासस



प्रतिक्रिया दिनुहोस !