१९ श्रावण २०७८, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

भुकम्पले दियाे शेरबहादुरलाई चाेट,मल्हम लगाउने गाईकाे गाेठ

प्रकाशित मिति :  २१ जेष्ठ २०७८, शुक्रबार ०८:१२


विकास अधिकारी–

०७२ को भूकम्पले शेरबहादुर खड्काको घर भत्कायो । गाई गोठ पनि भत्कायो । दुई छोरा पढ्ने स्कुल पनि भत्कायो । शेरबहादुरलाई लाग्यो– भूकम्पले भविष्य पनि भत्कायो ।

घर भत्किएपछि जीवन भारी भयो, गोठ भत्किएपछि तीनवटा गाई पनि बोझ भयो । गाई बेच्न खोज्दा बिकेन ? कसले किन्ने र ?सिन्धुपाल्चोकको तातोपानीमा धेरैको ज्यान गयो, धन गयो, जताततै भत्किएको थियो । भत्किएको भविष्य केले सिउने ? केले टाल्ने ? विलखवन्दमा पर्नभुयो ।

आफ्ना गाई कसैले पालिदिए सहर पसेर गुजारा चलाउने विचार आयो । तर, कसले पालिदिने ? कोही तयार भएनन् । सहर पस्न गाई बाधा भयो । गाई कसैले नकिन्ने, पाल्न पनि कोही तयार नहुने ।

त्यसपछि शेरबहादुरले अनौठो र दुस्साहसिक निर्णय गर्नुभयो । परिवार मात्र होइन, तीनवटा गाईलाई पनि ट्रकमा हालेर काठमाडौं आउनुभयो । गन्तब्य थियो– टोखा । त्यहाँ केही जग्गा भाडामा लिने बन्दोवस्त मिलाइसक्नुभएको थियो । शेरबहादुरलाई लाग्यो– यही तीनवटा गाईले मलाई पाल्छ ।

तीनवटा गाई र शेरबहादुरको चारजनाको परिवारले काठमाडौंको टोखामा संघर्ष यात्रा थाल्यो । यहाँ हामी यही परिवारको संघर्ष यात्राको वयान गर्दैछौं ।

भूकम्पपछि काठमाडौंमा पनि सजिलो कहाँ थियो र ? जताततै भग्नावशेष थियो । समाज आतंकित थियो, निरास थियो । शेरबहादुरको परिवारका लागि विरानो ठाउँ थियो काठमाडौं । टोखामा भाडामा लिएको पाँच रोपनी जग्गामा बसोबास सुरु भयो । छोराहरुलाई स्कुल भर्ना गरियो ।

दुस्साहसको पृष्ठभूमि

शेरबहादुरले तीनवटा गाई र परिवार काठमाडौं ल्याउने निर्णय त्यसै लिनुभएको थिएन । केही वर्ष अघि उहाँ रोजगारको सिलसिलामा इलाम पुग्नुभएको थियो । गाई पालन र कृषिमा इलाम अग्रणी मानिन्छ । त्यहाँ केही समय गाई फार्ममा काम गर्नुभएको थियो ।

गाई पालेर धेरै थोक गर्न सकिन्छ भन्ने थाहा थियो । उहाँ पाँच वर्ष रोजगार गर्न कतार पनि बस्नुभएको थियो । मेहेनत गर्ने हो भने नेपाल नै विदेश सरह हुन्छ भन्ने बुझ्नुभएको थियो ।

यही कारण शेरबहादुरले दुस्साहस गर्नुभएको थियो ।

गोठ विश्वविद्यालय

नबुझ्नेका लागि गाई गोठ भनेको फोहोर ठाउँ हो, बुझ्नेका लागि विश्वविद्यालय हो ।

गाउँमा पाले जसरी काठमाडौंमा गाई पालेर हुँदैन– शेरबहादुरलाई लाग्यो । कसो गर्ने त ?

काठमाडांैको ग्रामीण क्षेत्रका गाई फार्म र गोठ चाहार्न थाल्नुभयो । गाईपालकहरुको कथाव्यथा र अनुभव सुुन्न थाल्नुभयो । अरुका गाई फार्म तथा गोठलाई शेरबहादुरले विश्वविद्यालय ठान्नुभयो । अध्ययन गर्नुभयो ।

गाई पालेरै केही गर्छु भन्ने मन पहिले नै बनाइसक्नुभएको थियो । अरुका गाई फार्म र गोठ हेरेपछि शेरबहादुरले ठहर गर्नुभयो– गाई पालनले जीवन निर्वाह मात्र होइन, अरु धेरै थोक गर्न सकिन्छ ।

अब कसो गर्ने ? शेरबहादुरसँग जवाफ थियो । भएका गाईको राम्रो स्याहार गर्ने अनि गाई थप्दै लैजाने ।

त्यसबेला शेरबहादुर तीनवटा गाईको  ३० लिटर दूध बेच्नुहुन्थ्यो ।

अरुण एण्ड अनिल कृषि फर्म

नाम बाटै बुझ्नुभयो होला– अरुण र अनिल शेरबहादुरका छोरा हुन् । यही नाममा गाई फार्म दर्ता गर्नुभयो । अब शेरबहादुरको गोठ बन्यो गाई फार्म ।

शेरबहादुरले धमाधम गाई थप्न थाल्नुभयो । कमाए जति गाई किन्न लगानी, गाँस काटेर पनि गाई किन्नलाई नै खर्च । भूकम्पले भत्किएको समाज तंग्रिन थालेको थियो भने शेरबहादुरको गाई गोठ पनि फैलँदै गयो ।

गाई थप्दा आम्दानी पनि थपिन्थ्यो, अनुभव पनि बढ्थ्यो । अनुभव भन्दा ठूलो शिक्षा अरु केही हुँदैन । अनुभवरुपी शिक्षाले शेरबहादुरलाई अगाडि बढाउन थाल्यो ।

गोठमा गाई ब्याउन थाले । छोराहरु र बाछाबाछी सँगै हुर्कन थाले । भन्नुहुन्छ– ‘गाई ब्याउँदा असाध्यै खुसी लाग्छ, बाछाबाछी आफ्नै छोराछोरी सरह लाग्छ ।’

गाई थपिँदै गयो, ब्याउँदै गयो । आम्दानी बढ्दै गयो । अहिले फार्ममा ४० वटा गाई छ ।

६ वर्षमा ४० वटा गाई ! यो चमत्कार नै हो । यो चमत्कार लागि शेरबहादुर खड्का र पवित्रा खड्काको हजारौं लिटर पसिनाबाट सम्भव भएको हो ।

सेतो र हरियो सुन

शेरबहादुरको गोठमा सेतो र हरियो सुन फल्छ । सेतो सुन भनेको दूध हो । हरियो सुन भनेको गोबर हो ।

अहिले दैनिक तीन सय लिटर दूध बेच्नुहुन्छ । दुई दिनमा एक ट्रक गोबर बेच्नुहुन्छ । तीन जनालाई जागिर दिनुभएको छ ।

यहाँ फेरि शेरबहादुरको अतित उल्लेख गरौं । जतिबेला सिन्धुपाल्चोकबाट काठमाडौं ल्याएर तीनवटा गाई पाल्न थाल्नुभएको थियो, त्यसबेला मुश्किलले दिनमा ३० लिटर दूध हुन्थ्यो । दूध बेच्न घरघर जानुपथर््यो । अहिले धेरै दूध गोठबाटै बिक्री हुन्छ ।

र, वरिपरि तकारी खेति पनि गर्नुभएको छ । गउँत र गोबरमलले फलेको अर्गानिक तरकारी खानुहुन्छ । अलिअलि बेच्नु पनि हुन्छ ।

भालेभन्दा पहिले

शेरबहादुर–पवित्रा दम्पत्ति भालेको डाकभन्दा पहिले उठ्नुहुन्छ । अर्थात् सखारै तीन बजे । ‘बिहान अँध्यारैमा उठेर काम नगर्ने हो भने गाई पाल्नु बेकार छ’– शेरबहादुर भन्नुहुन्छ ।

गोठ सफा गर्नुपर्‍यो, घाँस, चारो, पराल ल्याउनुपर्‍यो, चारो किन्न ठाउँठाउँ जानुपर्‍यो, गाई विरामी हुन्छन्, औषधी किन्न जानुपर्यो, खोले पकाउनु र खुवाउनुपर्यो । एकछिन फुर्सद हुँदैन शेरबहादुर दम्पतीलाई ।

राति नौ बजे ओछ्यानमा पस्दा निदाएको पत्तै हुँदैन ।

गाईका बाछाबाछीसँगै हुर्किएका अरुणले यस वर्ष एसइई सके, सानो छोरा ६ कक्षामा । दुवैको पढाई अब्बल । दुवैजना कक्षामा प्रथम हुन्छन् ।

नेपालमा धेरै शेरबहादुरहरु छन् जो गौपालन गरेर मालामाल भएका छन् । तर, अचम्मको नियम लागेको छ देशमा । मोटरसाइकल या साइकलमा लगेर दूध बेच्न पाइँदैन, मोटरमा लानुपर्छ । ‘एक वर्ष भयो सरकारले यो नियम लगाएको, यो नियमबाट पीडित छु’– शेरबहादुरको गुनासो छ ।

भन्नुहुन्छ– ‘म सँग साईकल भए साईकलमा लाने हो । बाईक भए बाईकमा लाने हो । गाडी भए गाडीमा लाने हो । केही पनि नभए हातमा झुण्डाएर लाने हो, किन अवरोध गर्नु ?’

कृषकलाई अन्याय हुने नियम कानुन देख्दा शेरबहादुरलाई अत्यन्तै दुःख लागेको छ ।

अन्त्यमा 

शेरबहादुरको उद्यम र इलम थाहा पाउनुभयो । अब अर्काे कुरा पनि थाहा पाउनुस् । उहाँको पढाई सिर्फ १० कक्षा हो । अहिले उहाँ प्रति लिटर एक सय रुपैयाँमा दैनिक तीनसय लिटर दूध बेच्नुहुन्छ । खर्च कटाएर आम्दानी कति हुन्छ होला ? हामीले यो प्रश्न शेरबहादुरलाई सोधनौं । यो प्रश्नको जवाफ मनमनै हिसाब गरेर तपाईंहरु आफैंले खोज्नुहोला ।



प्रतिक्रिया दिनुहोस !