३१ जेष्ठ २०७८, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ज्येष्ठ नागरिकलाई जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप

प्रकाशित मिति :  १९ जेष्ठ २०७८, बुधबार ११:००


काठमाडौं । सरकारले यही जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान संचालन गर्ने भएको छ ।

चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलबार मात्र चीनबाट नौ लाख हजार मात्रा ‘भेरोसेल’ खोप आएको र आज थप एक लाख मात्रा तिब्बत सरकारबाट आउन थालेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिन फिङ्बीच केही दिनअघिको टेलिफोन वार्ता भएपछि चीन सरकारले अनुदानमा खोप उपलब्ध गराएको हो । प्रवक्ता डा. पौडेलले खोपको दोस्रो मात्रा सुनिश्चित गरेर मात्र ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकसँग चीनसँग सीमा जोडिएका जिल्लाका १८ वर्षभन्दा माथिका लागि पनि खोप दिइने जानकारी दिनुभयो । ६० देखि ६४ उमेर समूहका खोप लगाउने करीब आठ लाख जनसंख्या रहेको छ ।

मन्त्रालयले खोप लगाउँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस लिएर जान अनुरोध गरेको छ । नेपालमा खोपको पहिलो मात्रा २१ लाख १३ हजार ८० र दोस्रो मात्रा सात लाख १४ हजार एक सय ६३ लगाएका छन् ।

अहिलेसम्म नेपालमा भारत सरकारको अनुदानमा कोभिसिल्ड १० लाख मात्रा र खरीद गरेर १० लाख मात्रा, चीनबाट यसअघि आठ लाख र कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार खोप आएको छ ।

– रासस



प्रतिक्रिया दिनुहोस !