४ असार २०७८, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विकास र समृद्धिको अर्काे नाम हो केपी ओली

प्रकाशित मिति :  १७ जेष्ठ २०७८, सोमबार ०४:४२


निरोज पौडेल-

जनताको तन, मन र धनलाई सम्बोधन गर्ने बजेट आयो । जनताको भान्सालाई सम्बोधन गर्ने बजेट आयो । जनताको स्वास्थ्यलाई सम्बोधन गर्ने बजेट आयो । विकास र समृद्धिलाई नयाँ उचाईमा पुराउने बजेट आयो ।

देश बन्दैछ, अघि बढ्दैछ, नेपाल अब पहिले जस्तो रहेन । सरकारले देशलाई विकासको नयाँ उचाईमा लैजाँदैछ । केपी शर्मा ओलीको सट्टा अरु कोही भएको भए देशले विकासको यस्तो रफ्तार देख्न पाउँथ्यो ? पाउँदैनथ्यो । हामीले दर्जनौं सरकार देखिसकेका छौं । ०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकार र नाकावन्दीको बेलाको केपी ओली नेतृत्वको सरकारमात्र जनता माझ लोकप्रिय भए । अहिले आएर केपी ओली नेतृत्वको सरकारले विगतका सबै सरकारलाई बिर्साउने गरी ऐतिहासिक कामहरु गरिरहेको छ

राजनीतिको मूल धर्म जनताको सेवा हो । यसलाई कार्यान्वयन गर्ने कर्तब्य पार्टीहरुको हो । तर, नेपालको वर्तमान राजनीतिक शक्ति संघर्षलाई विश्लेषण गर्ने हो भने नेपालका अधिकांश पार्टीहरु आफ्नो आधारभूत कर्तब्यबाट च्यूत भएका देखिन्छन् ।

विगत ३० वर्षको इतिहास हेर्दा नेपाली राजनीतिको मूल समस्या अस्थिरता हो । अस्थिर राजनीतिले गर्दा नेपालीको विकास र समृद्धिको सपना साकार हुन सकेको छैन । यस समस्यालाई चिर्दै राजनीतिक स्थिरता कायम गरी विकास र समृद्धिको बाटोमा देशलाई अगाडि बढाउन नेकपा एमालेका अध्यक्ष केपी ओलीको पहलकदमीमा माओवादी केन्द्रसँग एकीकरण प्रस्ताव गरी वाम गठवन्धन बनेको थियो । हुनत गठवन्धन नगरेको भए एमाले एक्लैले नै बहुमत ल्याउने रहेछ, तैपनि वाम गठवन्धनले ०७४ को निर्वाचनमा दुई तिहाई हाराहारी सिट जित्यो । त्यसपछि केपी ओली प्रधानमन्त्री बन्नुभयो ।

त्यसपछि नेपालमा विकास र समृद्धिको महाअभियान सुरु भयो । त्यो महाअभियानलाई हालै आएको बजेटले अर्काे उचाईमा पुराएको छ ।

ओलीको कार्यकालमा देशमा विकास निर्माणका कार्यक्रमले अभूतपूर्व गति लिएको छ, सफलता पाएको छ । विगतमा राष्ट्रिय गौरवका आयोजनाहरु कछुवाको गतिमा बनिरहेका थिए, ओली सरकारको पालामा खरायो गतिमा निर्माण भइरहेछ । अरु सरकारले कछुवा गतिमा बनाइरहेको मेलम्ची आयोजना यो सरकारले खरायो गतिमा बनाउनुको परिणाम हो– आज उपत्यकाको घरघरमा खानेपानी छेलोखेलो भइरहेको छ । केपी ओलीको सैद्धान्तिक निर्णयमा टेकेर काम अगाडि बढाउँदा देश आज लोडसेडिङ मुक्त भएको छ ।

विकासको सबैभन्दा महत्वपूर्ण पूर्वाधार सडक हो । यो तीन वर्षमा यति धेरै सडक बनेको छ कि देशमा विकासको मूल फुटेको छ । नयाँनयाँ सडक बनिरहेको छ, जताततै कालोपत्रे भइरहेको छ । मोटरेबल र झोलुंगे पुल हजारौं बनेको छ । देश तुइनमुक्त भएको छ । ०७२ सालको भूकम्पपछि तत्कालीन प्रधानमन्त्री केपी ओलीले थाल्नुभएको पुननिर्माण अभियानलाई त्यसपछिका सरकारले अगाडि बढाएनन् । यो सरकारले पुननिर्माणको काम ८० प्रतिशत सकेको छ । धरहरा र रानीपोखरीलाई पुर्नजिवित गरिएको छ ।

विकास र समृद्धिको बाटोमा तिब्र गतिमा दौडिएको सरकारलाई छिर्के लगाएर पछार्ने, बाधा दिने अनेक प्रयत्न भए । त्यस्तो प्रयत्न नभएको भए नेपाल यो तीन वर्षमा अझ माथि पुग्ने थियो । विकास र समृद्धि नचाहने, विकास र समृद्धिलाई वाधा दिने प्रयासलाई पन्छाउँदै सरकारले यो तीन वर्षमा नेपालमा विकास र समृद्धिको क्रान्ति गरेको छ ।

यस बीच अनपेक्षित रुपमा कोरोना महामारी आयो । महामारी बीच पनि विकास निर्माणका काम जारी रहनु सरकारको ठूलो सफलता हो । महामारीको पहिलो लहरका बेला महामारी नियन्त्रण गरेर जनतालाई बचाउने मामिलामा नेपाल विश्वको सफलतम देशमध्ये गनियो ।

महामारीको दोस्रो लहरको आसपासमा नेपालका अस्पतालहरुमा ठूलो संख्यामा बेड थपियो । आईसियू र भेन्टिलेटर बेड थपियो । एचडियु बेड बनाइयो । सुविधा सम्पन्न आइशोलेसन केन्द्रहरु बनाइयो । अक्सिजन अभाव सुरु हुनासाथ सरकारले युद्धस्तरमा काम गर्यो । फलतः अहिले अक्सिजन अभाव न्यून भएको छ । साधन स्रोत र प्रविधिको चरम अभाव बीच महामारीको सामना सरकारले सफलतापूर्वक गरिरहेको छ । दक्षिण एसियामा नेपाल खोप लगाउने मामिलामा भारतपछिको दोस्रो अग्रणी बनेको छ । आगामी दिनमा ब्यापक खोप अभियान चलाउन सरकारले निरन्तर प्रयास गरिरहेको छ । केपी ओली सरकारले सबैलाई खोप दिलाउँछ भन्नेमा जनता विश्वस्त भएका छन् ।

सरकारको यो अभूतपूर्व सफलताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनेताको उचाईमा उठाएको छ । देश बनाउने नेता नेपालीले खोजिरहेका थिए । केपी ओलीलाई देश बनाउने नेताका रुपमा जनताले पाएका छन् । विगतका दर्जनौं प्रधानमन्त्रीले देश बनाएर जनताको मनमष्तिष्क र ह्रदयमा बस्ने मौका गुमाएका थिए । अर्काे अर्थमा भन्ने हो भने काम गर्न सकेका थिएनन् । विगतका प्रधानमन्त्रीहरुले जे गर्न सकेका थिएनन्, केपी ओलीले त्यही गर्नुभयो । त्यसैले नेपाली इतिहासका अमर राजनेताहरुको श्रेणीमा केपी ओली पर्नुभएको छ ।

केपी ओलीको वर्तमान कार्यकालका उपलब्धी आँखाले देखिने खालका छन् भने ह्रदयले अनुभूति गर्ने खालका पनि छन् । अहिले नेपालमा कुनै हिंसात्मक संघर्ष छैन, पृथकतावादी गतिविधि छैन । हिंसात्मक संघर्ष रहित अवस्थामा वर्षाैं वर्षपछि नेपाल आइपुगेको छ । विप्वल समूह र सिके राउत समूह मात्र नभएर अन्य सानातिना समूहलाई पनि शान्तिको बाटोमा ल्याइएको छ । यसलाई सरकारको सामान्य सफलता मात्र मान्न मिल्दैन ।

नागरिकताबिहीन लाखौँ नेपालीको समस्यालाई अध्यादेश मार्फत सम्बोधन गरिएको छ । राष्ट्रिय राजनीति र विकास निर्माणमा मात्र होइन परराष्ट्र सम्वन्धमा पनि राजनेता ओलीले आफूलाई अब्बल सावित गर्नुभएको छ । भारत र चीनँग नेपालको सन्तुलित र सम्मानपूर्ण सम्वन्ध कायम गर्ने मात्र होइन वर्षौँ देखि गुमेको कालापानी र लिम्पियाधुरा लगायतका नेपाली भुभागहरु नेपाली नक्सामा समेटिएको छ । विश्व रंगमञ्चमा नेपालको हैसियत बढेको छ । नेपाल अब गुमनाम देश रहेन, विश्वमा सुनिने र देखिने देशमा बनेको छ ।

चाणक्यको भनाई छ– विरोधीहरु सबै एक ठाउँमा भेला भएर विरोध गरे भने आफू ठिक ठाउँमा छु भन्ने बुझ्नु । अहिले नेपालका सबै राजनीतिक शक्ति एकातिर छन्, विगतमा प्रभावशाली भनिएका मिडियाहरु ओलीको विरुद्धमा छन् तर जनता भने ओलीको साथमा छन् । केपी ओली विरुद्ध यति भयानक प्रचार युद्ध छेडिएको छ कि त्यस्तो विरोध इतिहासमा कोही पनि लोकतान्त्रिक प्रधानमन्त्री विरुद्ध भएको थिएन । चरित्र हत्या गर्ने, झुठो समाचार फैलाउने, तथ्यलाई बंगाएर कुप्रचार गर्ने लगायतका अनेक काम भइरहेको छ । तर, त्यस्ता सबै कुप्रचारको जवाफ सरकारको कामले दिइरहेको छ । काम बोलेपछि कुप्रचार आफै निस्तेज हुन्छ भन्ने अहिलेको अवस्थाले देखाइरहेको छ ।

नेपालमा विकास र समृद्धि मन नपराउने जत्था छ । देश अगाडि बढेको नपचाउने जत्था छ । जनता सम्पन्न र शशक्त बनेको देख्न नचाहने जत्था छ । त्यस्तो जत्था नेकपा एमालेभित्र पनि माओवादीको संगतबाट सिर्जना भइसकेको रहेछ । देशलाई समस्यामा फसाइरहने अनि त्यो समस्याको खेति गरेर आफूलाई राजनीतिको केन्द्रमा राखिरहने प्रवृत्ति अब परास्त हुँदैछ । त्यस्तो जत्था चुनाव चाहँदैन, जनताको भोट गनेर सरकारमा पुग्न सकिँदैन, संसद्का सीमित सांसद्लाई यता र उता पारेर, यता र उता तानेर मात्र सरकारमा पुग्न सकिन्छ भन्ने ठान्छ । जनतामा विश्वास नभएको त्यस्तो जत्था अहिले पनि मुद्दा लडिरहेको छ ।

यस अघि पनि प्रतिनिधि सभा विघटन भएको थियो । पुनस्थापित प्रतिनिधि सभाले आफ्नो औचित्य सावित गर्न सकेन । बहुमतको सरकार दिन सकेन ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा समक्ष विश्सासको मत माग्नुभयो । तर संसदीय राजनीतिको आधारभूत मान्यताभन्दा बाहिर गएर एमालेकै केही नेता मतदानमा अनुपस्थित रहे । यो कलंकपूर्ण घटना इतिहासमा कालो अध्यायका रुपमा दर्ज हुने नै छ । संसदबाट विश्वासको मत प्राप्त हुन नसकेपछि संविधानको धारा ७६ (५) अनुसार सरकार गठनका लागि प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुभयो । राष्ट्रपतिबाट दलहरुलाई सरकार बनाउन आह्वान भयो । तर त्यहाँ विपक्षी दलहरुले बहुमतसहित दावी गर्नसक्ने कुनै आधार थिएन । उनीहरुले कीर्ते हस्ताक्षरसहित दावी गरे तर राष्ट्रपतिले त्यसलाई भरपर्दो ठहर्‍याउनु भएन । परिणामस्वरुप पुनः प्रतिनिधि सभा विघटन गरी निर्वाचनको घोषणा भएको छ । चुनावमा जान थरथरी काम्नेहरु अहिले चुनाव रोक्न अदालत धाइरहेका छन् । जनता माझ जान डराउनेले राजनीति गर्नु नै किन ? चुनावमा जान नमान्ने पार्टीलाई सरकारमा जाने नैतिक अधिकार हुँदैन ।

अब अदालती निर्णय आउने नै छ । सर्वत्र के विश्वास गरिएको छ भने अदालतले विघटनलाई इन्कार गर्ने ठाउँ छैन । अर्थात्, चुनाव हुन्छ । चुनावले के गर्छ ? अर्थात्, चुनावमा के हुन्छ ? ठोकुवासाथ भन्न सकिन्छ– चुनावमा जनताले विकास र समृद्धि रोज्नेछन् । विकास र समृद्धिको अर्काे नाम हो केपी शर्मा ओली । चुनावमा जनताले राजनीतिक स्थिरता रोज्नेछन् । राजनीतिक स्थिरताको अर्काे नाम हो केपी शर्मा ओली । चुनावमा जनताले नेपालको स्वाभिमान, अखण्डता र राष्ट्रियता रोज्नेछन् । राष्ट्रियताको अर्काे नाम हो केपी शर्मा ओली । अहिले देखिएको परिदृष्यले प्रष्टसँग भन्छ– आउँदो चुनाव एमाले अर्थात् केपी ओलीको हो ।

(लेखक राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य हुनुहुन्छ ।)



प्रतिक्रिया दिनुहोस !