१७ श्रावण २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

अख्तियारसँग प्रचण्ड र माधव त्राहिमाम, आमसभाको भित्री रहस्य यस्तो छ

प्रकाशित मिति :  २९ माघ २०७७, बिहीबार १०:२३


काठमाडौं । बुधबार काठमाडौंको भृकुटीमण्डप छेउ बाटो छेकेर प्रचण्ड र माधव नेपालहरु आमसभा गर्दै थिए । प्रचण्ड भन्दै हुनुहुन्थ्यो– मैले भने अनुसार भएन भने यो देशमा आँधीहुरी आउँछ, थाम्नै नसक्ने हुन्छ ।

देशभरीबाट भेला गरेर ल्याइएका सोझासीधा मानिसले प्रचण्ड र माधव नेपालले पाखुरा सुर्कंदै दिएको धम्की अदालत र निर्वाचन आयोगतिर हो भन्ने बुझे । तर, प्रचण्ड र माधव नेपालहरुको बास्तविक धम्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगतिर थियो ।

यता प्रचण्ड र माधवले भाषण गर्दैगर्दा उता अख्तियारले ३० औं वार्षिकोत्सव मनाउँदै थियो । अख्तियारको वार्षिकोत्सवकै दिन पारेर प्रचण्ड र माधवहरुले आमसभा गरेको भेउ पहिले धेरैले पाएनन्, बुधबार मात्र बुझ्नेले बुझे ।

अख्तियार प्रमुख प्रेमकुमार राईले वार्षिकोत्सवमा भ्रष्टाचारीलाई नछाडिने बताउनुभयो । अख्तियारले विगतमा दुईपाँच सय घुस खानेलाई कारवाही गर्ने गरेको थियो । केही वर्ष यता अख्तियारले ठूलो भ्रष्टाचारमा हात हालेको बालुवाटार जग्गा घोटाला काण्ड थियो । बालुवाटार काण्डको खोजी अख्तियारले गरेको होइन, प्रधानमन्त्रीको निर्देशनमा सरकारले नै गरेको थियो र सरकारले नै अख्तियारलाई थप छानविन गरेर मुद्दा चलाउन सिफारिस गरेको थियो ।

अख्तियार पदाधिकारीमा नयाँ टिम आएपछि अब भ्रष्टाचारका ठूलाठूला फायल खुल्ने बताइएको छ । नयाँ टिमले दुई पाँच सयको खुद्रे भ्रष्टाचारमा हात नहाल्ने भएको छ । विगतमा भएका ठूलाठूला भ्रष्टाचार काण्डका फायल नयाँ टिमले खोल्दैछ । नेपालको अहिलेसम्म सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड शिविर घोटाला हो ।

माओवादीले हत्याहिँसा गर्न चार पाँच हजार जना छापामार तयार पारेको थियो । शान्तिपूर्ण राजनीतिमा आएपछि प्रचण्डले चलाखीपूर्ण तरिकाले २२ हजार जति छापामार आफूसँग भएको भनी झुठो विवरण दिनुभयो । ती २२ हजार जति छापामारलाई शिविरमा राखियो । सयौंलाई अयोग्य भनी निकालियो । देशका विभिन्न ठाउँमा बनाइएको लडाकू शिविरमा छापामारहरुलाई राखिएको थियो । छापामारलाई खानपिनका साथै तलब भत्ता पनि दिइएको थियो । तलब भत्ता ककसलाई दिइयो भन्ने कुनै पनि विवरण नराखी, कुनै पनि दस्तावेज नराखी प्रचण्डले नै ठूलो रकम खाइदिनुभयो । छापामारहरुले थोरै मात्र रकम पाउँथे, बाँकी सबै प्रचण्डको परिवारमा जान्थ्यो ।

शिविर घोटालाको उजुरी अख्तियारमा पर्यो । अख्तियारले छानविन गर्यो तर प्रचण्ड र बाबुरामको पावरको अगाडि अख्तियारको केही चलेन । स्रोत अनुसार अख्तियारले घोटालाको विस्तृत अध्ययन गरिसकेको छ । अख्तियारको अध्ययन अनुसार ४० अर्ब रुपैयाँभन्दा धेरैको घोटाला भएको छ । घोटाला गरिएको रकम अजेयराज सुमार्गी लगायतका व्यक्तिहरु मार्फत् विदेश लगियो र त्यसलाई विभिन्न कम्पनीमा विदेशी लगानी आएको भनी नेपाल भित्राएर कालो धनलाई सेतो बनाइयो ।

सुमार्गीले विदेशबाट ल्याएको आठदस अर्ब रुपैयाँ स्रोत नखुलेको भनी राष्ट्र बैंकले रोक्का गरेको छ । यी सबै रकमको कनेक्सन प्रचण्डको परिवारसँग देखिएको छ । अख्तियारको नयाँ टिमले यही काण्डमा मुद्दा दायर गर्न सक्छ । त्यसैले प्रचण्डले राजनीतिक भाँडभैलो गरेर अख्तियारको हतकडीबाट बच्ने उपक्रम गरिरहनुभएको छ । उहाँ माधव नेपालसँग मिल्नुको कारण पनि कुनै राजनीतिले होइन, अख्तियारको हतकडीबाट बच्नलाई हो भन्ने खुलिसकेको छ ।

माधव नेपाललाई अख्तियारको डर लाग्नुको कारण बालुवाटार जग्गा लुट काण्डले मात्र होइन । बालुवाटार जग्गा लुट काण्डमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । तर, माधव नेपाल र बाबुराम भट्टराई सहित केहीलाई थप मुद्दा दायर गर्नुपर्ने अख्तियारको अनुसन्धानले देखाएको छ । माधव नेपालको अर्काे घोटाला काण्ड सिविल सहकारी र सिविल होम्समा हो । इच्छाबहादुर तामाङको संलग्नतामा सिविल काण्ड भएको हो । त्यसमा माधव नेपाल नराम्रोसँग तानिने अवस्था रहेको अख्तियार स्रोत बताउँछ ।

आफूहरुलाई हतकडी लाग्नसक्ने प्रचण्ड र माधवले बताउँदै आउनुभएको छ ।

 



प्रतिक्रिया दिनुहोस !