४ असार २०७८, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

महोत्तरीमा हालसम्म ५९ ले ज्यान गुमाए , गाउँ सिल

प्रकाशित मिति :  ११ जेष्ठ २०७८, मंगलवार ०६:५३


जलेश्वर । कोरोना महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित बनेको महोत्तरी जिल्लामा गए रातिसम्म ५९ जनाको ज्यान गएको छ ।

स्वास्थ्य कार्यालय महोत्तरीले सार्वजनिक गरेको तथ्यांकअनुसार कोरोनाको दोस्रो लहरमा अहिलेसम्म जिल्लामा ५९ जनाको ज्यान गएको छ भने अवस्था निकै भयावह बन्दै गएको छ ।

कार्यालयका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहका अनुसार कोरोनाबाट ५९ जनाको ज्यान गइसकेको छ भने आजसम्म कूल एक हजार आठ  सय ९७ संक्रमित भएका छन् । पैंतीस जना विभिन्न अस्पतालमा उपचारमा रहेका छन् भने बाँकी आ–आफ्नो घरमा आइसोलेशनमा रहेका छन् । उहाँका अनुसार दुई सय ४० ले कोरोना जितेका छन् ।

यसैबीच जिल्लाको भंगाहा नगरपालिकाको एउटै वडामा ५० भन्दा बढी संक्रमण फेला परेपछि सो वडालाई आज बिहानदेखि सिल गरिएको छ । प्रमुख जिल्ला अधिकारी तीर्थप्रसाद भट्टराईका अनुसार भंगाहा–४ स्थित रामनगर बिर्तागाउँमा ५० भन्दा बढी सक्रिय संक्रमित फेला परेपछि आजदेखि सो गाउँलाई पूर्णरूपमा सिल गरिएको हो ।

सो गाउँमा आजदेखि बाहिरबाट कुनै पनि व्यक्तिको प्रवेश निषेध गरिएको छ ।

भित्रबाट बाहिर आउजाउसमेत पूर्ण प्रतिबन्ध लगाइएको प्रजिअ भट्टराईले बताउनुभयो ।

–रासस



प्रतिक्रिया दिनुहोस !