६ असार २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

सुकुम्बासीको नाममा महत्वपूर्ण जग्गा कब्जा गर्नेलाई छाडिन्न-रोमनाथ ओली

प्रकाशित मिति :  ११ जेष्ठ २०७८, मंगलवार ०६:४२


काठमाडौं । झापाको दमक नगरपालिकामा कोभिड महामारीको समयमा सुकुम्बासी बस्ती उठाएको भन्दै स्थानीय सरकार र नगरप्रहरीको आलोचना भइरहेको छ ।

सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा विपतको बेला नगरपालिकाले सुकुम्बासीलाई उठाएर अन्याय गरेको भन्दै नगरपालिकाको विरोध भएको छ । नगरपालिका प्रमुख रोमनाथ ओली भने यसलाई स्वीकार्न तयार हुनुहुन्न । उनीहरु आफ्नो जमिन र सम्पत्ती लुगाएर सुकुम्बासी हुँ भन्दै हिड्ने व्यक्तिहरु भएको नगरप्रमुख ओलीको भनाइ छ ।

व्यक्तिगत रुपमा आफू र आफ्नो पार्टी नेकपा एमाले सधैँ विपन्न र सुकुम्बासीको हितको पक्षमा हिजोदेखि लड्दै आएको उहाँले बताउनुभयो । ‘ हामी हिजो पनि उहाँहरुकै पक्षमा थियौँ, आज र भोलि पनि सुकुम्बासीकै पक्षमा लागि रहन्छौँ, तर सुकुम्बासीलाई ढाल बनाएर स्वार्थ लुट्ने कथित नेता र व्यक्तिको पछि लाग्न सकिँदैन’, उहाँले भन्नुभयो ।

विगतमा आफ्नो दलको सरकार भएको बेला पद र शक्तिको दुरुपयोग गरी ३० अाैँ विगाह सरकारी जमिन आफ्नो बनाइ बेचविखन गर्ने केही माफिया   सुकुम्बासीका हिमायती भएको देख्दा आफूलाई छक्क लागेको उहाँले बताउनुभयो ।

उहाँले नगरपालिकाले विपन्न र सुकुम्बासीको लागि काम गर्दै आएको पनि बताउनुभयो । नगरपालिकाले वडा नं ३ का ३३ विपन्न परिवारलाई उहाँहरुले भोगचलन गरेको जमिनमा ५ लाख रुपैँया खर्च गरी घर बनाएर हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।

नगरपालिकाकै १ नं वडामा १५ वटा ४ कोठे पक्की घर बनाएर २३ परिवारलाई  व्यस्थापन गरेको उहाँले जानकारी दिनुभयो ।
दमक–७ मा तीन कोठे १५ वटा पक्की भवन निर्माण भइसकेका र ती घरमा पनि विपन्नलाई व्यवस्थापन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । यसै गरी नगरपालिकाका ३ सय विपन्न परिवारको फुसको छानो फेरि टिनको छाना लगाउन नगरपालिकाले सहयोग गरेको बताउनुभयो ।

नगरपालिका अझै पनि समस्यामा परेका नागरिकलाई सहयोग गर्न र सुकुम्बासी तथा विपन्न नागरिकलाई व्यवस्थापन गर्न तयार रहेको उहाँले बताउनुभयो । त्यस्तो समस्या भएका नागरिकलाई विधिवत रुपमा नगरपालिकामा आउन पनि उहाँले आग्रह गर्नुभयो ।

तर सुकुम्बासीको नाममा सडक किनारका महत्वपूर्ण जग्गा कब्जा गर्ने नियत राख्नेलाई नगरपालिकाले नछाड्ने उहाँले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !