४ असार २०७८, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काठमाडाैं उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी

प्रकाशित मिति :  ११ जेष्ठ २०७८, मंगलवार ०६:३४


काठमाडाैं । काठमाडाैं उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी थालिएकाे छ ।

कोभिड-१९ संक्रमण राेकथाम तथा नियन्त्रणका लागि उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने तयारी थालिएकाे हाे । साेही विषयमा छलफल गर्न उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ ।

तीनै जिल्लामा एक साता निषेधाज्ञा थप्ने तयारी भइरहेकाे काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले  जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे – ‘यसअघि थपिएकाे निषेधाज्ञा १३ गते सकिँदै छ, त्यसैले आजकाे बैठकले निषेधाज्ञा थप्ने निर्णय गर्छ ।’

सरकारले ल्याएकाे काेभिड-१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश कार्यान्वयनका लागि निषेधाज्ञामा अझ कडाइ गरिने उहाँले बताउनुभयाे । गृह मन्त्रालयले निषेधाज्ञामा कडाइ गर्न परिपत्र गरिसकेकाले अब थप हुने निषेधाज्ञा अझ कडा हुने पनि प्रजिअ पराजुलीले जानकारी दिनुभयाे । अपेक्षा गरिएअनुसार संक्रमण नघटेकाले निषेधाज्ञामा कडाइ गर्न लागिएकाे उहाँले बताउनुभयाे ।

संक्रमण बढ्न थालेपछि वैशाख १६ गतेदेखि काठमाडाैं उपत्यकामा निषेधाज्ञा लागू छ । सुरुमा एक साताका लागि लागू भएको निषेधाज्ञा वैशाख २२ गते फेरि एक साता थपिएको थियो । वैशाख ३० गते फेरि दुई साता थपिएको थियो । पछिल्लो पटक थपिएको निषेधाज्ञा जेठ १३ गते सकिँदै छ।

सरकारले काेभिड राेकथामका लागि काेभिड संकट व्यवस्थापन सम्बन्धी अध्यादेश समेत ल्याएकाे छ । साेही अध्यादेश अनुसार निषेधाज्ञामा कडाइ गर्न गृहले प्रजिअहरुलाई परिपत्र गरेकाे हाे । अहिले देशका ७५ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लागू भएको गृहले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !