९ श्रावण २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

यसरी गर्दैछ दमकले कोभिडसँग संघर्ष

प्रकाशित मिति :  ८ जेष्ठ २०७८, शनिबार १२:०८


झापा । दमक नगरपालिकामा एक वर्ष बीचमा सातसय ७२ जनालाई कोरोना संक्रमण भएको छ । १२ जनाको ज्यान गएको छ ।

दमकमा अहिले निषेधाज्ञा छ ।

संक्रमित र ज्यान जानेको यो तथ्यांक एक वर्षको बीचको हो । तर, कोरोना महामारीको पहिलो लहरले भन्दा दोस्रो लहरले दमक क्षेत्रलाई कैयन गुणा धेरै आक्रान्त बनाएको छ । गत वर्ष दमकका मेयर रोमनाथ ओली र उहाँकी धर्मपत्नी लिला ओलीलाई संक्रमण भएको थियो । उहाँहरु दुई साता अस्पताल बस्नुपरेको थियो ।

कोभिडका कारण साविक दमक १० का पूर्व वडाध्यक्ष मोतिबहादुर इङ्नामको गत बुधवार निधन भएको थियो ।

दोस्रो लहरबाट दुईजना वडा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत पनि संक्रमित हुनुभएको थियो । ‘हाम्रा धेरै जनप्रतिनिधि र कर्मचारीलाई संक्रमण भइसकेको छ, सबैले कोरोनालाई जित्नुभएको छ’– दमककी उपमेयर गीता अधिकारीले सनराइज खबरसँग भन्नुभयो ।

दुई दिन अघिसम्म वडा नम्बर २ का अध्यक्ष प्रजापति सापकोटा प्रजापति सापकोटा संक्रमित भएर घरमै आइशोलेसनमा हुनुहुन्थ्यो । संक्रमित भएको बेला उहाँले आफ्नो कार्य जिम्मेवारी वडा सदस्यलाई दिनुभएको थियो । आइशोलेसनको बेला पनि घरमै बसेर फोनबाट कामकाज गरेको अनुभव उहाँले सुनाउनुभयो ।

प्रजापतिको भनाई छ– ‘डराउनु हुँदैन, आत्तिनु हुँदैन, मनोबल उच्च राख्नुपर्छ, सकारात्मक सोंच्नुपर्छ, कोरोनालाई जित्न सकिन्छ ।’

‘गत वर्षको लकडाउनमा धेरै मानिस घर बाहिर निस्कन्थे, कोरोना केही होइन भन्थे तर, अहिले अवस्था त्यस्तो छैन’– उपमेयर गीताले भन्नुभयो– ‘अहिले निषेधाज्ञा धेरै हदसम्म प्रभावकारी भएको छ । त्यसकारण महामारीलाई नियन्त्रणमा राख्न सकिएको छ ।’

दमकमा कोभिड संक्रमितको उपचारका लागि नगरपालीकाले कोभिड उपचार केन्द्र, आम्दा अस्पताल, लाइफ लाइन अस्पताल, एडभान्स अस्पताल व्यवस्था गरेको छ ।

‘दमकमा उपचार नपाएर विरामी समस्यामा पर्नुपर्ने अवस्था छैन, हामीले प्रभावकारी व्यवस्था गरेका छौं– मेयर रोमनाथ ओली भन्नुहुन्छ– ‘हामीलाई जनतालाई जागरुक र होशियार बनाएका छौं । यही कारण महामारी डरलाग्दो गरी फैलन पाएको छैन ।’

घरमा बसिरहेका विरामीलाई समस्या परेमा तुरुन्त अस्पतालसँग सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । ‘स्वास्थ्यकर्मीहरु र विरामीहरु बीच समन्वय गरिरहेका छौं । चिकित्सकहरुसँग नगरपालिका निरन्तर सम्पर्कमा छ’– मेयर ओलीले भन्नुभयो ।

अहिले दमकमा सक्रिय संक्रमित पाँचसय ७५ जना छन् । तर, दमक धेरै ठूलो व्यापारिक केन्द्र तथा सहर भएकाले झापा तथा पूर्वाञ्चलका धेरै ठाउँबाट मानिस आउजाउ गर्छन् । नजिकका गाउँ तथा नगरपालिकाका विरामी दमक आउने गरेका छन् भने दमकका विरामीहरु धरान, बिराटनगर तथा बिर्तामोड जाने गरेका छन् ।

‘हामीले यो ठाउँ उ ठाउँ भनेर हेर्ने गरेका छैनौं, सबैलाई मानवीय सहयोग गरिरहेका छौं’– मेयर ओलीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !