२ असार २०७८, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बिहेघरमा कोरोना संक्रमण बेहुला र बेहुलाकी आमाको गयाे ज्यान

प्रकाशित मिति :  ८ जेष्ठ २०७८, शनिबार ०८:१८


दमक । झापाको गौरादह नपा–४ को एक बिहेघरमा कोरोना संक्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको ज्यान गएकाे छ । संक्रमणबाट गौरादह–४ खङटाका ३० वर्षीय बेहुला सन्तोष ताजपुरिया र उहाँकी आमाको ज्यान गएको नगर स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठका अनुसार सङ्क्रमित सन्तोषको गए राति १२ः४५ बजे विराटनगरस्थित कोशी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गत वैशाख २४ गतेदेखि उहाँ त्यस अस्पतालमा उपचारत हुनुहुन्थ्यो ।

यसअघि आमा शान्तिदेवी ताजपुरियाको गत वैशाख २३ गते उपचारका क्रममा ज्यान गएको थियोे । वैशाख १५ गतेतिर सन्तोषको विवाह भएको थियो । विवाह भएको केही दिनमै बेहुला सन्तोष, उहाँकी नवदुलही, आमासहित पाँचजनाको पूरै परिवारलाई सङ्क्रमण देखिएको थियो ।

त्यस्तै सन्तोषकी श्रीमतीको समेत कोशी कोभिड अस्पतालमा उपचार भइरहेको गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताउनुभयो । बिहे कार्यमा असवाधानी हुँदा ताजपुरिया जनमा संक्रमण सरेको हुनसक्ने उहाँले बताउनुभयो ।

योसँगै गौरादहमा नयाँ भेरियन्टबाट ज्यान जानेकाे संख्या पाँच पुगेको छ ।

–रासस



प्रतिक्रिया दिनुहोस !