४ असार २०७८, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले रामेछापले डीसीसीएमसीलाई दियो एघार लाख रुपैंया बराबरको एन्टिजेन

प्रकाशित मिति :  ५ जेष्ठ २०७८, बुधबार १६:२२


रामेछाप । नेकपा एमाले रामेछापले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई एन्टिजेन परीक्षणको किट उपलब्ध गराएको छ ।

डीसीसीएमसीका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजूलाई बुधबार साँझ एमालेले ती सामाग्री हस्तान्तरण गरेको हो । एमाले नेता एवं निर्माण व्यवसायी रत्न गौतमले नेकपा एमाले रामेछाप मार्फत ती सामाग्री उपलब्ध गराउनुभएको हो ।

कोभिड परीक्षण गर्ने एन्टिजेनको एक हजार थान किट उपलब्ध गराइएको एमाले रामेछापका सचिव पुरुषोत्तम कडेरियाले जानकारी दिनुभयो । जिल्लामा स्वाब संकलन गर्ने मेशिन नहुँदा बाहिर पठाउनु पर्ने र रिपोर्ट आउन ढिलो हुने भएकोले तुरुन्तै संक्रमण पत्ता लगाउन सकिने सो किटको माग उच्चभएकोले उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

अहिलेको बजार मूल्य अनुसार करिब  ११ लाख मूल्य बराबरका ती सामाग्री प्रदान गरिएको एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले बताउनुभयो । उहाँले जिल्लामा कोभिड रोकथाम तथा नियन्त्रणको लागि तत्काल आवश्यक पर्ने अन्य सामाग्री पनि पार्टीले राज्यका निकाय र दाताहरुसँग समन्वय गरी जुटाउने काम गरिरहेको बताउनुभयो ।

अक्सिजन प्लान्ट निर्माण र आईसीयू बेड स्थापनाको लागि प्रदेश सरकारसँग समन्वय गरिरहेको बताउँदै उहाँले अक्सिजन सिलिण्डरको तत्काल आवश्यक पर्ने अवस्था आए त्यसको जोहो गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सामाग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी सैँजूले सो किटको कारण स्वास्थ्य परीक्षणमा सहज हुने बताउनुभयो । आफूले प्रदेश सरकारसँग समेत एन्टिजेन किट माग गरिरहेको अवस्थामा प्राप्त भएको सो किटले निक्कै सहयोग पुग्ने उहाँले बताउनुभयो । उहाँले प्राप्त किट रामेछाप अस्पताल र मन्थली नगरपालिकालाई दुई दुई सय र बाँकी ६ वटा गाउँपालिकालाई एक एक सयका दरले वितरण गरिने पनि बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !