२ असार २०७८, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अक्सिजन सिलिण्डर कालोबजारी गर्ने तीन पक्राउ

प्रकाशित मिति :  ५ जेष्ठ २०७८, बुधबार १६:१८


काठमाडौं । अक्सिजन सिलिन्डरको कृतिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री (कालोबजारी) गरेको अभियोगमा तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुरको सातदोबाटो बस्ने नुवाकोट विदुर नगरपालिका–३ का रामकृष्ण घिमिरे, ललितपुर महानगरपालिका–१२ लगनखेल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–६ का नवराज खनाल र ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने धादिङ गल्छी गाउँपालिका–२ का रामशरण अधिकारी रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हाल विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमणपछि अस्पतालमा उपचाररत बिरामीका लागि अक्सिजन अभाव भइरहेको सन्दर्भमा कालोबजारी भइरहेको भन्ने विशेष सूचनाको आधारमा खोजी गर्दा उनीहरुलाई ललितपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बजारमा अन्दाजी १५ हजार रुपैंया पर्ने अक्सिजन सिलिन्डरलाई बजार मूल्यभन्दा बढी लिई प्रतिसिलिण्डर ४१ हजार रुपैंयामा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । उनीहरुको साथबाट अक्सिजन भरिएको सिलिण्डर एक थान, सोही सिलिन्डर बिक्री गर्दै गरेको नगद ४१ हजार रुपैंया र चार थान रसिदसमेत बरामद गरिएको छ ।

उनीहरु विरुद्ध कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐनअन्तर्गतको कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२१३ वटा अक्सिजन सिलिण्डर संकलन

नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा दुई सय १३ वटा अक्सिजन सिलिण्डर संकलन गरिएको छ । तीमध्ये एक सय ४७ वटा भरिएका र ६६ वटा खाली सिलिण्डर रहेका छन् ।संकलन गरिएकासहित आज तीन सय २८ कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको सक्रियतामा वैशाख २६ देखि आजसम्म नौ हजार तीन सय ५३ वटा सिलिण्डर संकलन गरी कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ ।

– रासस



प्रतिक्रिया दिनुहोस !