३० जेष्ठ २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

आपत पर्‍याे प्रचण्डलाई, सूचना र प्रश्नबाट उपाय खोज्दै

प्रकाशित मिति :  ३ जेष्ठ २०७८, सोमबार ०६:४८


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजकाल आफ्ना निकट नेता कार्यकर्ताहरुलाई सोध्न थाल्नुभएको छ– अहिले चुनावमा जाँदा फाइदा कि दुई वर्षपछि ?

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दियो भने बेइज्जत हुनुपर्ने, अरु दुई वर्ष सत्ताबाट टाढा रहनुपर्ने, विश्वासको मत नदिउँ भने चुनाव भन्ने अजिंगरले निल्ने । यस्तो समस्यामा फस्नुभएको छ प्रचण्ड ।

प्रचण्डले अहिले चुनाव कि पछि चुनाव भनेर राय सुझाव लिनुको कारण भने अर्कै छ । उहाँले चुनावमा जानलाई नभएर नजानलाई यस्तो प्रश्न सोध्ने गर्नुभएको हो । प्रधानमन्त्री केपी ओलीले केही दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत माग्ने प्रस्ताव लैजाँदै हुनुहुन्छ । ओलीले विश्वासको मत पाउनुभएन भने प्रतिनिधि सभा भंग भएर चुनावमा जानुपर्ने हुन्छ । क्षतविक्षत भएको पार्टी बोकेर चुनावमा जान प्रचण्ड तयार हुनुहुन्न ।

‘लोकतन्त्रको रक्षाका लागि’, ‘प्रतिनिधि सभा पाँचै वर्ष चलाउनका लागि’ भन्दै ओलीलाई विश्वासको मत दिनुपर्ने परिवन्दमा प्रचण्ड फस्दै हुनुहुन्छ । किनभने ओली सरकारले विश्वासको मत नपाउनासाथ चुनाव हुन्छ । चुनावमा गएर विजोग हुने कि ओली सरकारलाई विश्वासको मत दिएर बेइज्जत हुने भन्ने दोबाटोमा प्रचण्ड हुनुहुन्छ । ओली सरकारलाई विश्वासको मत दिएर भए पनि चुनावी विजोगबाट जोगिने प्रचण्डको रणनीति रहेको जानकारहरु बताउँछन् । तर, माओवादीले त्यतिबेला मात्रै विश्वासको मत दिनेछ जतिबेला ओलीले विश्वासको मत नपाउनुहुने अवस्था आउँछ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत पाउनुभयो भने दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन पाइँदैन । चुनाव भयो भने आफ्नो पार्टीको आकार नेमकिपाको जस्तो हुन्छ भन्ने प्रचण्डले राम्रोसँग बुझ्नुभएको छ ।

अहिलेसम्मको अवस्था हेर्दा प्रधानमन्त्री ओलीलाई जनता समाजवादी पार्टी (जसपा)को बहुमत अर्थात् महन्थ ठाकुर पक्षले विश्वासको मत दिने देखिन्छ । कथंकदाचित जसपाले विश्वासको मत दिएन या महन्थ ठाकुर पक्षको भोटले ओलीलाई बहुमत पुगेन भने सरकार ढल्छ र चुनाव हुन्छ । आफ्नो पार्टी सिनिक्क भएको चिन्ता प्रचण्डलाई छँदैछ, जसपाले लिने नीतिबाट आफूलाई पर्ने असरबाट पनि उहाँ चिन्तित रहनुभएको निकटहरु बताउँछन् ।

यसैबीच प्रचण्डलाई आजकाल केही नेताहरुले ठाडै ‘तपाईंले समाल्न सक्नुभएन, बरवाद गर्नुभयो’ भन्न थालेका छन् । स्रोत अनुसार जनार्दन शर्मा, वर्षमान पुन, हरिबोल गजुरेल लगायतका नेताहरुले प्रचण्डले पार्टी बरबाद पारेको भन्न थाल्नुभएको छ । ‘ओलीसँग मिल्न छाडेर माधव नेपालहरुसँग लहसिँदा यो दुर्गति भएको हो’ भन्ने उहाँहरु तीनजनाको मत रहेको बुझिन्छ ।

पार्टी सिनिक्क सिद्धने अवस्था आएपछि प्रचण्डले एक सूचना जारी गर्नुभएको छ । सो सूचनामा पार्टीले आगामी दिनमा लिने विचार, राजनीति, संगठनात्मक संरचना, नेता कार्यकर्ताको आचरण र जिम्मेवारीबारे सुझाव पठाउन अपिल गरिएको छ । त्यस्तो रायसुझाव पठाउन इमेल पनि सार्वजनिक गरिएको छ ।

प्रचण्डको नेतृत्वमा पार्टी चलेको तीन दशकभन्दा धेरै भइसकेको छ । अहिले आएर पार्टीले लिनुपर्ने विचारबारे समेत सुझाव माग्नुपर्ने दर्दनाक हालतमा माओवादी पुगेको छ । जानकारहरु भन्छन्– अहिले प्रचण्डको अगाडि पहिरो पछाडि भिर छ, उहाँ समस्यै समस्यामा घेरिनुभएको छ ।

 



प्रतिक्रिया दिनुहोस !