२ असार २०७८, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भरतपुर अस्पतालमा शय्या र जनशक्ति थपियाे

प्रकाशित मिति :  २९ बैशाख २०७८, बुधबार ०६:२१


चितवन । भरतपुर अस्पतालले कोरोना भाइरस संक्रमित बिरामीको संख्या बढ्दै गएपछि शय्या र जनशक्ति थप गरेको छ । अस्पतालले एक सय ३६ चिकित्सक स्वास्थ्यकर्मी करारमा नियुक्त गरेको छ भने ५५ शय्या थप गर्दैछ ।

अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार हाल कायम एक सय ४५ शय्यामा ५५ थप गरी दुई सय पुर्‍याउन लागिएको हो । हाल अस्पतालमा एक सय ४५ शय्या भरिएका छन् । अस्पतालको अन्य बिरामीका लागि छुट्याइएको १० शय्याको सघन उपचारकक्षलाई कोभिडका लागि छुट्याइने भएको छ । अन्य बिरामीका लागि पोष्टअपमा व्यवस्थापन गरिँदै छ । पैँतीस शय्याको अब्जर्बेशन वार्ड र क्याबिनका केही शय्या कोभिडका लागि प्रयोग गरिँदै छ । अस्पतालले माग गरेको जनशक्ति व्यवस्थापन गरी दुई दिनभित्रमा शय्या थप गरिँदै छ ।

यसैगरी अस्पतालले स्वास्थ्य मन्त्रालयको स्वीकृति लिएर एक सय ३६ जना जनशक्ति थप गरेको छ । तीमध्ये एक सय आठ नर्स, २४ मेडिकल अफिसर, तीन रेडियोग्राफर र एक बायोइञ्जिनीयर रहेका छन् । उनीहरूलाई करारमा नियुक्त गरिएको अधिकारीले जानकारी दिनुभयो । एक सय आठ नर्समध्ये ८० अस्पतालमा दैनिक ज्यालादारीमा कार्यरतबाट र २८ नयाँ नियुक्त गरिएको हो । यस्तै २४ मेडिकल अफिसरमध्ये २१ अस्पतालको दैनिक ज्यालादारीबाट र तीन जना नयाँ लिइएको अस्पतालले जनाएको छ । जिल्लाका अस्पतालमा बिरामीले शय्या पाउन सकेका छैनन् । सघन उपचारकक्ष भरिएका छन् । सघन उपचारकक्षको प्रतीक्षामा बिरामी आकस्मिक कक्षमा रहेका देखिन्छन् ।

जिल्लाका अस्पतालमा अहिले चार सय ३० बिरामी उपचाररत रहेका छन् । तीमध्ये दुई सय ४० सघन उपचारकक्षमा, एचएफएनसीमा ४९, एचडीयुमा ६३ र आइसोलेसनमा एक सय २७ जना रहेका छन् । जिल्लामा हालसम्म १० हजार एक सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये सक्रिय संक्रमित दुई हजार नाै सय नाै रहेका छन् । सक्रिय संक्रमित दुई सय अस्पतालको आइससोलेशनमा र दुई हजार सात सय नाै होमआइसोलेशनमा छन् ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार हालसम्म सात हजार एक सय ४५ जनाले कोरोना जितेर घर फर्किसकेका छन् भने एक सय ४५ को ज्यान गएको छ । जिल्लामा भेटिएका संक्रमितमध्ये चार हजार तीन सय ६७ महिला र पाँच हजार आठ सय २७ पुरुष रहेका छन् ।

–रासस



प्रतिक्रिया दिनुहोस !