३० जेष्ठ २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

लुम्बिनीमा मुख्यमन्त्री विरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता

प्रकाशित मिति :  २६ बैशाख २०७८, आईतवार ०७:२७


काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध आज पुनः प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको छ ।

आइतबार नेपाली कांग्रेस र माओवादी केन्द्रलगायत विपक्षी दलले अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । मुख्यमन्त्री विरुद्ध ४० जना सांसद्को हस्ताक्षर सहित अविश्वास प्रस्ताव दर्ता गरिएको नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक फखरुद्धिन खानले जानकारी दिनुभयो ।

आजै विशेष अधिवेशन आह्वानको लागि प्रदेश प्रमुखलाई पनि निवेदन बुझाइने उहाँले बताउनुभयो । ‘अविश्वास प्रस्ताव दर्ता गर्यौँ, अब विशेष अधिवेशनको निवेदन दर्ता गराउन प्रदेश प्रमुखको कार्यालयमा जाँदैछौँ’, उहाँले भन्नुभयो ।

सचिवालयमा आज प्रस्ताव दर्ता भएको लुम्बिनी प्रदेश सभा सचिवालयका प्रवक्ता हरिहर पोखरेलले पुष्टि गर्नुभयो । उहाँले भन्नुभयो, ‘आज सचिवालयमा प्रस्ताव दर्ता भइसकेको छ ।’

८७ सदस्सीय लुम्बिनी प्रदेश सभामा हाल ७९ जना सांसद् छन् । सरकार गठनको लागि कम्तिमा ४० मत आवश्यक पर्दछ । सरकारको विपक्षमा ४० जनाको हस्ताक्षर बुझाइएकोले सरकार अल्पमतमा परेको विपक्षीको भनाइ छ ।

यस अघि पनि मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध विपक्षी दलले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । तर सांसद्हरु कारबाही परी पद रिक्त रहेपछि संस्दमा भएका सदस्य संख्याको आधारमा एमालेको एकल बहुमत पुगेकोले पोखरेलले संयुक्त सरकारको मुख्यमन्त्रीबाट राजीनामा दिएर एकल सरकार बनाउनुभएको थियो । त्यस बेला विपक्षीको अविश्वास प्रस्ताव ल्याउने प्रयास असफल भएको थियो ।

अहिले एमालेका दुई जना सांसदले पदबाट राजीनामा दिनुभएको छ । एमालेका अमरबहादुर डाँगी र दूगनारायण पाण्डेले पदबाट राजीनामा दिएपछि पोखरेल नेतृत्वको एमाले सरकार पुन ः अल्पमतमा परेको छ । सरकार अल्पमतमा परेसँगै विपक्षीले सरकार विरुद्ध पुनः अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !