४ असार २०७८, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सबै सार्वजनिक स्थललाई क्वारेन्टाईन र आईसोलेसन बनाऊँ: नेपाली कांग्रेस

प्रकाशित मिति :  २३ बैशाख २०७८, बिहीबार १५:५४


काठमाडौं । नेपाली कांग्रेसले कोभिड नियन्त्रणको लागि स्थानीय तह र प्रदेशसँगको समन्वयमा प्रभावकारी काम गर्न सरकारलाई सुझाव दिएको छ ।

सबै स्थानीय तहमा आवश्यक आधारभूत संरचना, अस्पताल वेड, आइसीयू वेड, आइसोलेसन केन्द्र, क्वारेन्टाइन र  होडिङ्ग सेन्टरको व्यवस्थापन,संचालन र अनुगमन गर्न कांग्रेसले आग्रह गरेको छ । नेपाली कांग्रेस संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले बिहीबार एक विज्ञप्ति जारी गरी केन्द्र र प्रदेशमा रहेका ठूला अस्पताल, मेडिकल कलेजलाई कोभिड र साना अस्पताललाई ननकोभिड अस्पतालकोरुपमा विकसित गरी सेवा प्रवाह गर्न सुझाव दिनुभएको छ ।

कांग्रेसले जारी गरेको विज्ञप्तिमा आवश्यक वेड, आइसीयू वेड र भेन्टीलेटरको संख्या वृद्धि गर्न, अक्सिजन प्लान्टको स्थापना गर्न र कोभिडको उपचारमा प्रयोग हुने एन्टीभाइरल औषधी तथा अन्य जीवनरक्षाका औषधीको यथोचित प्रवन्ध गर्न नेपाल सरकार समक्ष माग गरिएको छ । साथै स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन यथाशीघ्र आवश्यक चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई करारमा भर्ना गर्ने प्रक्रिया अगाडि बढाउन पनि कांग्रेसले सुझाव दिएको छ ।

महामारीको कठिन घडीमा अग्रपंक्तिमा रहेर संक्रमितको उपचार र व्यवस्थापनमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, चालक, सफाईकर्मी सहित सबै राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मीको बीमा तथा जोखिम भत्ताको व्यवस्था तत्काल गर्न कांग्रेसले माग गरेको छ ।

सिमा नाकाबाट स्वदेश भित्रिरहेका नागरिकलाई अनिवार्य पीसीआर परीक्षण गर्ने, परीक्षणको नतिजा नआउन्जेल होडिङ्ग सेन्टरमा राख्ने व्यवस्था गर्न र संक्रमण देखिएका व्यक्तीलाई स्थानीय तहको समन्वयमा आईसोलेसन केन्द्रमा राख्ने व्यवस्था गर्न आग्रह गरिएको छ । ‘नेपाल बाहिरबाट आउने व्यक्तीको अभिलेख अद्यावधिक राख्न, संक्रमितको पहिचान र कन्ट्राक्ट ट्रेसिङ्ग कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन सम्बधित सबै निकायलाई आग्रह गर्दछ’, कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।

लकडाउनका कारण रोजगार गुमाएका आमनागरिक, श्रमिक र साना व्यवसायीले भोग्नुपरेको पीडालाई मध्यनजर गर्दै आवश्यक राहतको प्याकेज ल्याउन पनि कांग्रेसले माग गरेको छ । महामारी विरुद्ध एकवद्ध भै लड्न नेपाली कांग्रेसले आफ्ना कार्यकर्तालाई पनि आग्रह गरेको छ । ‘सबै तह र तप्काका साथीहरुलाई संक्रमितको पहिचान, उपचार र व्यवस्थापनमा खटिन हार्दिक आव्हान गर्दछु’, विज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्य पूर्वाधार र स्वास्थ्य सामग्रीको अभावमा भोग्नुपरेको कठिनाइलाई ख्याल गर्दै सबै प्रकारका सार्वजनिक र सामुदायिक स्थल, सभाहल, रंगशालालाई क्वारेन्टाइन, आइसोलेसन केन्द्र र होडिङ्ग सेन्टरको रुपमा उपयोग गर्ने कार्यमा अगुवाई गर्न कांग्रेसले कार्यकर्तालाई निर्देशन दिएको छ ।

आवश्यकता अनुसार  पार्टीकै संरचनालाई समेत सो कार्यको प्रयोजनकालागि उपयोग गर्न आवश्यक पहलकदमी गर्न पनि विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।

सरकारको लापरवाही, गैर जिम्मेवारपूर्ण रवैया र असंवेदनशील कार्यका कारण संक्रमण बढेको कांग्रेसको आरोप छ । सरकार महामारी विरुद्धको लडाईँलाई प्रभावकारी बनाउनुको साटो सत्ताको छिनाझपट मै अलमलिएको कांग्रेसले आरोप लगाएको छ ।

कोभिड १९ रोकथाम र नियन्त्रण गर्न आवश्यक कदम चाल्नुको साटो विद्यमान स्वास्थ्य प्रणालीले कोराना नियन्त्रण गर्न नसक्ने औपचारिक घोषणा गरी सरकारले आफ्नो जिम्मेवारीबाट भाग्ने प्रयास गरेको कांग्रेसको आरोप छ । भारतसँग सिमाना जोडिएको क्षेत्रमा सरकारले कडाई गर्न नसक्दा संक्रमण गाउँगाउँमा पुगेको कांग्रेसको ठहर छ ।

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !